Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अन्तु विवाद १८९३ : मेची कि सिद्धि ? विवादले जब अन्तुडाँडा गुम्ने खतरा पैदा भयो

अन्तु विवाद १८९३ : मेची कि सिद्धि ? विवादले जब अन्तुडाँडा गुम्ने खतरा पैदा भयो

  • नमीन ढकाल
  • मंगलबार, जेष्ठ १९ २०८३


अन्तु विवाद १८९३ : मेची कि सिद्धि ? विवादले जब अन्तुडाँडा गुम्ने खतरा पैदा भयो

इलाम । नेपालको पूर्वी सीमामा अवस्थित अन्तुडाँडा आज सूर्योदयको दृश्यावलोकन, चिया बगान र पर्यटनका कारण चर्चित छ । तर यही अन्तु कुनै समय नेपालको सार्वभौमिकतासँग जोडिएको संवेदनशील भूभाग थियो भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । वि.स १८९३ मा सिक्किमले अन्तु क्षेत्रमाथि दाबी गर्दै सीमा विवाद सिर्जना गरेपछि यो भूभाग नेपालबाट गुम्न सक्ने खतरा उत्पन्न भएको थियो ।

नेपाली पक्षको तथ्य, प्रमाण र स्थानीय बासिन्दाको साक्ष्यका कारण अन्ततः अन्तुडाँडा नेपालमै कायम रह्यो । इतिहासविद् युद्ध प्रसाद बैद्यले आफ्नो पुस्तक ‘इलाम ः इतिहास र विकास’ मा यस घटनालाई विस्तृत रूपमा अभिलेखीकरण गरेका छन् ।

इलाम क्षेत्रको इतिहास लिम्बुवान सभ्यतासँग गाँसिएको छ । प्राचीनकालमा देउमाईदेखि टिष्टासम्म फैलिएको भूभाग इमे हाङको अधीनमा रहेको उल्लेख पाइन्छ । पछि दश लिम्बुवानको संघीय संरचनाभित्र इलाम, चारखोल र फाकफोक क्षेत्रले विशेष स्थान पाएका थिए । पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि वि.सं. १८३१ मा विजयपुर राज्य नेपालको अधीनमा आयो र त्यसपछि टिष्टासम्मको भूभागलाई पनि नेपालमा समेट्ने प्रयास भयो ।

सिक्किमले कब्जा गरेको इलाम क्षेत्र फिर्ता लिन पृथ्वीनारायण शाहले कूटनीतिक पहल गरे । अन्ततः भएको सम्झौतापछि कन्काईदेखि टिष्टासम्मको भूभाग नेपालमा समावेश भयो र नेपालको पूर्वी सिमाना टिष्टासम्म विस्तार भयो । त्यसबेला नागरीगढी प्रशासनिक केन्द्रका रूपमा विकसित भयो । तर यो अवस्था लामो समय टिकेन । नेपाल–अंग्रज युद्ध (एंग्लो–नेप्लिज वारं) पछि वि.सं. १८७२ मा भएको सुगौली सन्धिले नेपाललाई मेचीपूर्वको सम्पूर्ण भूभाग त्याग्न बाध्य बनायो ।

दार्जिलिङसहितको क्षेत्र सिक्किम हुँदै अन्ततः अंग्रेजहरूको प्रभावमा पुग्यो । नेपालको पूर्वी सीमा मेची नदीमा सीमित बनाइयो । यही मेची नदी नै पछि अन्तु विवादको केन्द्र बन्यो । सिक्किमले वि.सं. १८९१ तिर नयाँ दाबी अघि सार्यो । नेपालीहरूले मेची भन्ने नदीलाई सिक्किमेलीहरूले ‘सेची’ भन्ने र नेपालीहरूले ‘सिद्धि’ भन्ने खोलालाई नै सिक्किमेलीहरूले वास्तविक मेची भएको दाबी गरे । यदि त्यस समयमा सिक्किमको यो तर्क स्वीकार हुने हो भने अन्तुडाँडा तथा अहिलेको श्रीअन्तु र समालबुङ क्षेत्र सिक्किमतर्फ पर्ने अवस्था आउँथ्यो ।

सुगौली सन्धिको व्यवस्थाअनुसार नेपाल र सिक्किमबीचको सीमा विवादमा अंग्रेज सरकार मध्यस्थकर्ता बन्ने व्यवस्था थियो । त्यसैले सिक्किमले विवादलाई ब्रिटिश सरकारसमक्ष पुर्यायो । प्रारम्भिक अनुसन्धानमा लेफ्टिनेन्ट कर्णेल ल्वायङले सिक्किमको पक्षमा राय दिए । नेपालले त्यसमा असहमति जनाउँदै पुनरावलोकनको माग गर्यो ।

त्यसपछि ब्रिटिश सरकारका प्रतिनिधि डा. क्याम्पवेलको नेतृत्वमा नयाँ टोली गठन गरियो । नेपाली टोलीमा लक्षवीर शाही, हेमदल थापा, दलसुर थापा, शोभासिंह थापा तथा अमिन उदयानन्द अर्याल सहभागी थिए । वि.सं. १८९३ मा दुवै पक्षका प्रतिनिधिहरूले स्थलगत अध्ययन सुरु गरे । मेची र सिद्धि दुवै नदीको उद्गमसम्म पुगेर निरीक्षण गरियो । स्थानीय बासिन्दासँग सोधपुछ गरियो र पुराना चलन तथा भूगोलसम्बन्धी प्रमाण संकलन गरियो ।

यस क्रममा एक वृद्ध लाप्चा बासिन्दाले महत्वपूर्ण साक्षी दिए । करिब ८५–९० वर्षका ती व्यक्तिले आफू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको र अन्तुडाँडाको पूर्वतर्फ बगेको नदी नै मेची तथा पश्चिमतर्फको नदी सिद्धि भएको स्पष्ट बताए । स्थानीय जनताको यही साक्षी नेपाली पक्षका लागि बलियो प्रमाण बन्यो ।

डा. क्याम्पवेलले आफ्नो प्रतिवेदनमा नदी पहिचानको वैज्ञानिक आधार प्रस्तुत गरे । उनले बढी पानी बग्ने, लामो दूरी पार गर्ने र ठूलो जलप्रवाह भएको नदीलाई मुख्य नदी मान्नुपर्ने सिद्धान्त अपनाए । त्यसका आधारमा अन्तुको उत्तर–पूर्वबाट बगेको नदीलाई वास्तविक मेची र पश्चिमतर्फको खोलालाई सिद्धि ठहर गरियो ।

फलस्वरूप अन्तुडाँडाको पूर्वबाट बगेको मेची नदी नै नेपाल–सिक्किम सीमा भएको निष्कर्ष निकालियो । यस निर्णयले अन्तुडाँडा नेपालकै भूभाग भएको प्रमाणित ग¥यो। ब्रिटिश सरकारले पनि यही प्रतिवेदनका आधारमा नेपालको पक्षमा निर्णय सुनायो ।

यो निर्णय केवल एउटा भूभाग जोगिएको घटना मात्र थिएन । यदि नेपालले यो विवाद हार्ने हो भने आजको सूर्योदय नगरपालिका–४ र ५ श्रीअन्तु–समालबुङ क्षेत्र नेपालबाट अलग हुन सक्थ्यो । नेपालको पूर्वी सीमा समेत फेरिन सक्थ्यो । त्यसैले अन्तु विवाद नेपालको सीमासुरक्षासँग प्रत्यक्ष जोडिएको ऐतिहासिक घटना हो ।

इतिहासविद् युद्ध प्रसाद बैद्यले यस घटनालाई केवल सीमा विवादका रूपमा मात्र होइन, स्थानीय जनताको राष्ट्रप्रतिको निष्ठा र प्रमाणमा आधारित कूटनीतिक सफलताका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार नेपाली प्रतिनिधिहरूको तार्किक प्रस्तुति, स्थानीय लाप्चा समुदायको साक्ष्य तथा तथ्यमा आधारित अनुसन्धानकै कारण अन्तुडाँडा जोगिएको हो ।

तस्बिर : मेची नदि र सिद्धि बिचको श्रीअन्तु क्षेत्र सांकेतिक रुपमा देखाउन एआईको प्रयोग गरेर बनाइएको

प्रतिक्रिया
सम्बन्धित समाचार