Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रसिकका गीतमा बाँचिरहेको स्मृति : इलाममा गुञ्जिए गणेश रसिकका कालजयी सिर्जना

रसिकका गीतमा बाँचिरहेको स्मृति : इलाममा गुञ्जिए गणेश रसिकका कालजयी सिर्जना

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १९ २०८३


रसिकका गीतमा बाँचिरहेको स्मृति : इलाममा गुञ्जिए गणेश रसिकका कालजयी सिर्जना

इलाम । नेपाली साहित्य, संगीत र गायनका बहुआयामिक व्यक्तित्व गणेश रसिकको सम्झनामा इलाममा आयोजित एक सांगीतिक साँझले उनका सिर्जनाहरूलाई फेरि एकपटक जीवन्त बनायो। रसिकको प्रथम वार्षिकीको अवसरमा आयोजित ‘वरिष्ठ साहित्यकार, संगीतकार तथा गायक गणेश रसिक प्रथम स्मृति साँझ–२०८३’ मा उनका कालजयी गीतहरू गुञ्जिँदा उपस्थित दर्शक भावुक बने।

गणेश रसिक–निरा रसिक फाउण्डेशन, इलाम को आयोजनामा सूर्योदय नगरपालिका–८ शान्तिचोकस्थित विश्व होटलको सभाहलमा सम्पन्न कार्यक्रममा रसिकले लेखेका, संगीत दिएका तथा स्वर भरेका गीतहरू नयाँ पुस्ताका कलाकारहरूले प्रस्तुत गरेका थिए। साँझ ५ बजेका लागि तय गरिएको कार्यक्रम केही ढिलो गरी करिब ७ बजे सुरु भए पनि दर्शकहरूको उत्साह भने अन्त्यसम्म उस्तै देखिन्थ्यो।

गत वर्ष २०८२ साल जेठ १८ गते रसिकको निधन भएको थियो। उनको अनुपस्थितिले नेपाली कला–साहित्य क्षेत्रमा सिर्जना गरेको रिक्ततालाई स्मरण गर्दै आयोजित कार्यक्रममा उनका १३ वटा चर्चित गीत प्रस्तुत गरिए। गीतहरूको प्रस्तुतिसँगै रसिकको सांगीतिक यात्राका विभिन्न आयामहरू पनि दर्शकमाझ पुनर्जीवित भए। कार्यक्रमको सुरुवात कमल अर्यालले प्रस्तुत गरेको ‘लडी नहार्ने नेपाली छाती’ बाट भयो। देशभक्ति र आत्मसम्मानको भाव बोकेको यो गीतले रसिकको राष्ट्रिय चेतनालाई सम्झायो। त्यसपछि वृष प्रधानले ‘धेरै सम्झे धेरै हुन्छ’ गाएर दर्शकलाई भावनात्मक यात्रामा लगे।

रगुन गुरुङले ‘टेक्ने ठाउँमा पोल्ने आगो’ प्रस्तुत गर्दा गीतका शब्दहरूले जीवनका संघर्ष र पीडाको अनुभूति गराए। अश्विन प्रधानले गाएको ‘नुन जस्तो बिल्ने’ रसिकका सबैभन्दा लोकप्रिय गीतहरूमध्ये एक हो, जसले दर्शकलाई गुनगुनाउन बाध्य बनायो। पुजन प्रधानले ‘म त हजुर गाइने’ प्रस्तुत गरे भने सरगम राईले ‘मेरो अतीतलाई कहाँ भेटूँ’ गाएर स्मृति र समयको सम्बन्धलाई संगीतमार्फत अभिव्यक्त गरे ।

सन्तोष शिवाले ‘तिमीले बिर्सने लाखै छ’ गाए भने गायत्रा ओली र कमल अर्यालको युगल स्वरमा ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’ प्रस्तुत भयो। नेपाली सांगीतिक इतिहासमा विशेष स्थान बनाएको यो गीतले दर्शकको भरपुर ताली पायो।
भूपेन्द्र राईले ‘घर छोडी परदेश लाग्दा’ गाएर जन्मभुमी छाड्दाको पीडा सुनाए।

राजेश चाम्लिङले ‘भुल्न सकिन’ प्रस्तुत गरे भने भूपेन्द्र राई र कृतिका राईले ‘मसँग एउटा तारा छ’ गाए। चन्दन किशोर लिम्बूले ‘यो नेपाली ठिटो’ प्रस्तुत गर्दै राष्ट्रिय भावनालाई पुनः जागृत गराए। कार्यक्रमको अन्त्यतिर रसिकले रचना गरेको ‘झुल्के घामको न्यानो सलाम’ रगुन गुरुङ र वृष प्रधानले संयुक्त रूपमा प्रस्तुत गरे। गीतसँगै हलभित्र उपस्थितहरू रसिकका सम्झनामा भावुक बनेका देखिन्थे।

रसिकका गीतहरूलाई अझ जीवन्त र भावपूर्ण बनाउन अनुभवी वाद्यवादकहरूको टोलीले साथ दिएको थियो। बाँसुरीमा मित्र मगर, किबोर्डमा भीम केरुङ, तबलामा दिनेश घिमिरे, गितारमा भूपेन्द्र राई, बेस गितारमा लेखु मुखिया तथा हार्मोनियममा वृष प्रधान ले संगीत संयोजन गरेका थिए। उनीहरूको समन्वित प्रस्तुतिले रसिकका सिर्जनालाई केवल गाएर मात्र होइन, वाद्यवादनमार्फत पनि पुनर्जीवित बनाएको अनुभूति गराएको थियो।

स्मृति साँझ केवल सांगीतिक कार्यक्रम मात्र थिएन, रसिकको योगदानको पुनः स्मरण गर्ने अवसर पनि थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ गायक कुवेर राई उपस्थित थिए। उनले रसिकलाई नेपाली गीत–संगीतको मौलिक स्वरका रूपमा स्मरण गर्दै उनका सिर्जनाले आगामी पुस्तालाई पनि प्रेरणा दिने बताए। पूर्व सूर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराई ले मन्तव्य व्यक्त गर्दै रसिकले इलामको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न खेलेको भूमिकाको चर्चा गरिन्।

इटहरीबाट आएका सर्जक राजु केसीले रसिकको साहित्यिक र सांगीतिक यात्रामाथि प्रकाश पार्दै उनलाई नेपाली समाजका कथा, संघर्ष र संवेदनालाई गीतमा उतार्न सफल सर्जकका रूपमा चित्रित गरे। जयकुमार राई को अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार राजकुमार दाहाल ले सञ्चालन गरेका थिए।

गणेश रसिकको निधन भएको एक वर्ष बितिसक्दा पनि इलाममा गुञ्जिएका उनका गीतहरूले एउटा सन्देश स्पष्ट पारे— स्रष्टा शारीरिक रूपमा नहुन सक्छन्, तर उनका सिर्जना कहिल्यै मर्दैनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार