Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सगरमाथा दिवस एवम तेन्जिङ नार्गे जन्मजयन्ती: नेपालले चिन्न नसकेका तेन्जिङ

सगरमाथा दिवस एवम तेन्जिङ नार्गे जन्मजयन्ती: नेपालले चिन्न नसकेका तेन्जिङ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १५ २०८३


सगरमाथा दिवस एवम तेन्जिङ नार्गे जन्मजयन्ती: नेपालले चिन्न नसकेका तेन्जिङ

आज मई २९ । संसारकै सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला परेको ऐतिहासिक दिन । यही दिनलाई विश्व सगरमाथा दिवसका रूपमा मनाइन्छ । संयोग नै भन्नुपर्छ, यही दिन सगरमाथा विजयका सह–इतिहास निर्माता तेन्जिङ नोर्गेको जन्मदिन पनि हो ।

मई २९, १९१४ मा जन्मिएका तेन्जिङ नोर्गेले मई २९, १९५३ मा एडमण्ड हिलारीसँगै सगरमाथाको चुचुरोमा पाइला टेकेर मानव इतिहासको दिशा नै बदलिदिए । तर विडम्बना, संसारले उनलाई हिमालको नायक मानिरहँदा नेपाल भने उनलाई आफ्नै नागरिकका रूपमा अंगिकार गर्न तयार भएन ।

सगरमाथाको सफल आरोहणपछि संसारभर “तेन्जिङ नोर्गे” नाम गुञ्जियो । नेपालले उनलाई “हाम्रो गौरव” भन्यो, तर त्यो गौरवलाई नागरिकताको कागजमा लेख्न सकेन । नाम्ग्याल वाङ्डीका रूपमा सोलुखुम्बु क्षेत्रमा जन्मिएका तेन्जिङले आफ्नो बाल्यकाल खुम्बुमा बिताए । उनका बाबुआमा तिब्बती मूलका भए पनि उनको हुर्काइ नेपाली भूगोलमै भयो । तर त्यही मूललाई आधार बनाएर नेपाल सरकारले उनलाई नागरिकता दिन अस्वीकार गर्‍यो ।

तेन्जिङ आफैंले नेपाली भएर संसारमा चिनिन चाहन्थे । बेलायतमा सर्वोच्च सम्मान ग्रहण गर्न जाँदा उनले नेपाली नागरिकको रूपमा जान चाहना राखेका थिए । राजा त्रिभुवनले समेत यस विषयमा चासो दिएका थिए । तर कर्मचारीतन्त्र कानुनी प्रावधानको जालो बुन्दै बस्यो ।

त्यही बेला भारतले भने अवसर गुमाएन । जवाहरलाल नेहरूले तत्कालै तेन्जिङलाई कूटनीतिक राहदानी उपलब्ध गराए । बेलायतबाट फर्किएपछि दार्जिलिङमा स्थापना गरिएको माउन्टेनेयरिङ इन्स्टिच्युटको निर्देशक बनाएर उनलाई भारतीय संस्थागत संरचनाभित्र समेटियो । नेपालले भने उनलाई केवल “नेपाली मूलका” भन्दै गौरव गर्न मात्र जान्यो ।

सन् १९२१ देखि नै सगरमाथा आरोहणका प्रयासहरू सुरु भएका थिए । नेपालले अनुमति नदिएकाले ती प्रयासहरू तिब्बतको उत्तरी मोहडाबाट गरिन्थे । जर्ज मालोरी, जर्ज फिन्च, एन्ड्रु इर्विनजस्ता आरोहीहरूले पटक–पटक मृत्युलाई चुनौती दिए । तर सगरमाथाले अन्ततः आफ्नो शिखरमा मानव पाइला टेकाउने अवसर तेन्जिङ र हिलारीलाई दियो ।

२०१० साल जेठ १६ गते बिहान साढे ११ बजे तेन्जिङ नोर्गे र एडमण्ड हिलारी सगरमाथाको चुचुरोमा पुगे । डोरीको सहाराले अघि बढ्दा अनुभवी शेर्पा भएकाले तेन्जिङ अगाडि थिए । धेरै इतिहासकार र पर्वतारोहीहरूको बुझाइमा चुचुरोमा पहिलो पाइला तेन्जिङकै थियो ।

सुरुमा उनले आफू अगाडि पुगेको र पछि डोरी तानेर हिलारीलाई माथि ल्याएको बताएका पनि थिए । तर पछि टोलीबीच भएको मौखिक सहमतिका कारण “हामी सँगै पुगेका हौँ” भन्ने आधिकारिक कथन स्थापित गरियो । तेन्जिङका लागि त्यो क्षण केवल व्यक्तिगत सफलता थिएन । त्यो हिमालसँग जीवन बिताएका सम्पूर्ण शेर्पा समुदायको सम्मान थियो । त्यसैले “पहिले को पुगे ?” भन्ने विवादमा उनी कहिल्यै उत्रिन चाहेनन् ।

हिलारीले पनि उनलाई कहिल्यै एक्लो छोडेनन् । सधैं साथमा राखे, हरेक तस्बिरमा सँगै उभिए, मित्रतालाई जीवनभर कायम राखे । तर सम्मानको संसारमा पनि विभेद थियो । हिलारी “सर एडमण्ड हिलारी” बने । टोली प्रमुख जोन हण्टले पनि “नाइट” को सम्मान पाए । तर तेन्जिङलाई “जर्ज मेडल” मै सीमित गरियो । बेलायतले उनलाई उच्च सम्मान दिन चाहँदा भारतका प्रधानमन्त्री नेहरूले रोक लगाएको चर्चा पनि इतिहासमा भेटिन्छ ।

नेपालले “नेपाल तारा” त दियो, तर “तिमी नेपाली हौ” भन्ने गर्व दिन सकेन । सगरमाथा चढ्न जाँदा उनले आफ्नो खल्तीमा केही साना वस्तु बोकेका थिए । टोली प्रमुख जोन हण्टले दिएको कपडाको कालो बिरालो, छोरी निमाले दिएको रातो–निलो पेन्सिल, अनि एउटा चकलेटको प्याकेट ।

सगरमाथाको चुचुरोमा पुगेपछि उनले सानो खाल्डो खनेर ती वस्तुहरू त्यहीँ राखिदिए । शायद त्यो कुनै धार्मिक विश्वास थियो, शायद परिवारको माया, शायद सफल यात्राको धन्यवाद । हिलारीले पनि एउटा क्रस त्यहीँ छोडेका थिए ।

खर्साङ रेडियोलाई दिएको अन्तर्वार्तामा तेन्जिङले भनेका थिए —
“म बंशजले तिब्बती हुँ । मेरा बुबा–आमा तिब्बती थिए । कामको सिलसिलामा खुम्बु आएर बसे र मेरो जन्म त्यहीँ भयो । पछि म काम खोज्दै दार्जिलिङ पुगेँ ।” तेन्जिङले संसारको सबैभन्दा अग्लो शिखरमा नेपाललाई चिनाए । तर नेपालले उनलाई चिन्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार