इलाम । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत इलाममा हुने जिल्ला स्तरीय छनोट प्रतियोगिता हुन सकेको छैन् । तर नवगठित काेशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय छनौट सम्पन्न नभएको अवस्थामा इलामको सहभागिता अन्योल देखिएको छ ।
जिल्ला खेलकुद विकास समिति इलामले आवश्यक परिपत्र, समय अभाव तथा समन्वयको कठिनाइका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिएको जनाएको छ। जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख योगबहादुर राईले जिल्ला खेलकुद विकास समिति तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव र बोर्ड सदस्यहरूको कार्यकाल २०८२ साल कार्तिक ३ गते समाप्त भइसकेपछि जिल्लाको खेलकुद गतिविधि कर्मचारीमार्फत सञ्चालन हुँदै आएको बताए ।
प्रदेश खेलकुद विकास बोर्डले जेठ १७ र १८ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जानकारी प्राप्त भए पनि जिल्ला स्तरिय छनोट प्रतियोगिता सञ्चालनका लागि हालसम्म औपचारिक परिपत्र प्राप्त नभएको राईले बताए ।
इलामका केही स्थानीय तहहरूले पालिका स्तरीय छनोट प्रतियोगिता सम्पन्न गरिसकेका छन् भने जिल्लाका १० वटै पालिकामा छनोट प्रक्रिया पूरा हुन सकेको छैन। त्यसैले तत्काल जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने अवस्था छैन् । गत वर्ष नै १६ औ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी सूर्योदय नगरपालिकले पाएको थियो। तर निर्वाचन प्रक्रियाका कारण फागुन महिनामै सम्पन्न हुनुपर्ने प्रतियोगिता हुन सकेको छैन् ।
प्रदेश खेलकुद विकास बोर्डका नव निर्वाचित बोर्ड सदस्य टिकाराम पुरीबाट मौखिक रूपमा प्रतियोगिता सम्पन्न गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन निर्देशन प्राप्त भए पनि जेठ १४ गतेदेखि १७ गतेसम्म सार्वजनिक बिदा रहेकाले पालिका तथा विद्यालयहरूसँग आवश्यक समन्वय गर्न कठिन भएको कार्यालय प्रमुख राईले जानकारी दिए ।