Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा जुबिलेन्ट र स्वर्णिमको विजयी सुरुवात

इलाम अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा जुबिलेन्ट र स्वर्णिमको विजयी सुरुवात

  • सन्देश सम्बाददाता
  • बिहिबार, जेष्ठ १४ २०८३


इलाम अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा जुबिलेन्ट र स्वर्णिमको विजयी सुरुवात

इलाम । इलाम जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन दिनमा जुबिलेन्ट इलाइट एकेडेमी र स्वर्णिम मोडेल एकेडेमीले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा जुबिलेन्ट इलाइट एकेडेमीले  अमर माध्यमिक विद्यालय लाई ९१ रनको फराकिलो अन्तरले पराजित ग¥यो।

टस हारेर पहिले ब्याटिङ रोजेको जुबिलेन्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। टोलीका ओपनर ब्याट्सम्यान क्रिस्टियानो श्रेष्ठले ४४ रनको महत्वपूर्ण योगदान दिए । ५९ बलको सामाना गरेको श्रेष्ठले १ छक्का र ५ चौका प्रहार गरे । जुबिलेन्टका ओपनर उसल खजुमले १७ रन, सक्षम राईले १६ रन, बिजेन गुरुङले १२ रन र रिदम देवानले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ अमर माविका एल्सन खत्री र शुसिल खत्रीले समान ३–३ विकेट लिए । साजन ठाकुरले २ विकेट लिए । १४४ रनको लक्ष्य पछ्याएको अमर माध्यमिक विद्यालय जुबिलेन्टको धारिलो बलिङसामु टिक्न नसकी ५२ रनमै समेटियो । दिक्षित घिमिरले ११ र सजन ठाकुरले १० रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

जुबिलेन्टका बलर सिमन भट्टराईले ३ विकेट लिए भने उशल खजुम र सक्षम राईले समान २–२ विकेट हात पारे । क्रिस्टियानो श्रेष्ठ र प्रयास राईले १/१ विकेट लिए । ३ विकेट लिएका अमर माविका शुसिल खत्री पहिलो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य अर्जुन पौडेल ले ट्रफी प्रदान गरेका थिए ।

यस्तै दोस्रो खेलमा स्वर्णिम मोडेल एकेडेमी ले प्रज्ञासदन बोर्डिङ स्कुल माथि रोमाञ्चक जित दर्ता ग¥यो। अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा स्वर्णिमले लक्ष्य पूरा गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रज्ञासदन बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

टोलीका कर्णबहादुर राउतले ४६ रनको उत्कृष्ट पारी खेले । रिवस गुरुङले १५ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । स्वर्णिमका बलर भरत श्रेष्ठ र अमीस भेटवालले समान ३–३ विकेट लिए । १३१ रनको लक्ष्य पछ्याएको स्वर्णिमका ओपनर मन्दिप बुढाथोकीले अर्धशतकीय इनिङ खेले । ६१ बल सामना गरेका उनले ४ छक्क र ५ चौकाको मद्धतमा ५४ रन बनाए ।

जेम्स दाहालले १९ र आशिष ठाकुरले १४ रन बनाए । प्रज्ञासदनका बलर दर्पण पौडेल र रितिक राईले समान ३–३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अर्धशतक बनाएका स्वर्णिमका मन्दिप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई राजु कट्टेल ले ट्रफी प्रदान गरेका थिए । इलाम जिल्लाभरका ६ विद्यालय सहभागी रहेको उक्त प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा फिक्कल माध्यमिक विद्यालय, सिरिसे माध्यमिक विद्यालय, स्वर्णिम मोडेल एकेडेमी, अमर माध्यमिक विद्यालय, प्रज्ञासदन बोर्डिङ स्कुल तथा जुबिलेन्ट इलाइट एकेडेमी सहभागी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार