इलाम । जलवायु परिवर्तनका असर स्थानीय तहसम्म प्रत्यक्ष देखिन थालेपछि इलाम नगरपालिका ले विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा निर्माण प्रक्रिया अघि बढाएको छ । पानीका मुहान सुक्ने, बाढी–पहिरोको जोखिम बढ्ने तथा कृषि उत्पादनमा असर पर्ने चुनौतीबीच स्थानीय जोखिम न्यूनीकरण र समुदायलाई उत्थानशील बनाउने उद्देश्यले योजना निर्माण थालिएको हो ।
सहयात्रा नेपालको आयोजना तथा प्रकृति रिसोर्सेस सेन्टर को प्राविधिक सहयोगमा आयोजित स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा योजना तर्जुमा गोष्ठीमा विज्ञ, जनप्रतिनिधि र सरोकारवालाले जलवायु संकट अब स्थानीय चुनौतीका रूपमा देखिन थालेको बताएका छन् ।
गोष्ठीमा इलाम नगरपालिकाका वातावरण अधिकृत रिसभ न्यौपाने ले गत असोज १८ गते इलाममा आएको ठूलो विपद्पछि नगरले भोग्नुपरेको अवस्था र त्यसपछिका प्रयासबारे तथ्यांकसहित प्रस्तुति दिएका थिए । उनले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका क्षेत्रमा नगरपालिकाले विभिन्न पहल गरिरहेको जानकारी दिए ।
कार्यक्रममा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै गएको, बाढी–पहिरोको जोखिम बढेको तथा कृषि र जैविक विविधतिमा प्रत्यक्ष असर देखिन थालेको विषय उठाइएको थियो । नगरपालिकाले वातावरण, पर्यटन तथा संस्कृतिको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । साथै, विपद् व्यवस्थापन ऐन, कोष परिचालन कार्यविधि तथा आपतकालीन योजना तयार गरिसकेको जानकारी समेत दिइएको थियो ।
इलाम नगरपालिकाका प्रमुख केदार थापा ले विपद् व्यवस्थापनमा सुरक्षा निकायसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै नगरले विपद् प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउँदै लगेको उल्लेख गरे । त्यस्तै, जलवायु अनुकूलन अभ्यासकर्ता सोहन श्रेष्ठ ले समुदायलाई विपद्प्रति उत्थानशील बनाउने उपाय, जोखिम तथा क्षति न्यूनीकरणका रणनीति र सन् २०३० सम्मका सम्भावित जलवायु जोखिमबारे जानकारी दिए ।
१ सय ७२ दशमलव ६७ वर्ग किलोमिटर क्षेत्रफल रहेको इलाम नगरपालिकामा १२ वटा वडा रहेका छन् । ५० हजारभन्दा बढी जनसंख्या रहेको नगरको आधाभन्दा बढी भूभाग वन क्षेत्रले ओगटेको छ भने ठूलो हिस्सा कृषि प्रयोजनमा प्रयोग हुँदै आएको छ । प्राकृतिक स्रोतमा धनी इलाम जलवायु परिवर्तनका जोखिमप्रति संवेदनशील बन्दै जाँदा स्थानीय तहको पूर्वतयारी र दीर्घकालीन योजना निर्माणलाई थप महत्वपूर्ण रूपमा हेरिएको छ ।