Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा पठन संस्कृति अभियान, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक अभ्यास

सूर्योदयमा पठन संस्कृति अभियान, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक अभ्यास

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ १४ २०८३


सूर्योदयमा पठन संस्कृति अभियान, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक अभ्यास

इलाम : सूर्योदय नगरपालिका–५ ले सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई व्यवहारिक, सिर्जनशील र बालमैत्री बनाउने उद्देश्यसहित नयाँ शैक्षिक अभ्यास सुरु गरेको छ । बालबालिकालाई परम्परागत गृहकार्यबाट मुक्त गर्ने, पठन संस्कृति विकासका लागि दुईवर्षे अभियान सञ्चालन गर्ने तथा विद्यालयस्तरमै ‘स्टिम एजुकेसन’ सुरु गर्ने निर्णयलाई यहाँ प्रभावकारी शैक्षिक सुधारका रूपमा हेरिएको छ ।

बौद्ध आधारभूत विद्यालय ले कक्षा पाँचसम्मका विद्यार्थीलाई अबदेखि परम्परागत होमवर्क नदिने निर्णय गरेको छ । वडाध्यक्ष उर्गेन बम्जनका अनुसार बालबालिकाको मानसिक तनाव कम गर्दै उनीहरूको बाल्यकाल, सिर्जनशीलता र कल्पनाशक्तिको संरक्षण गर्ने उद्देश्यले विद्यालय र वडा कार्यालयको पहलमा अभियान सुरु गरिएको हो ।

अभिभावकलाई बालबालिकालाई मोबाइल, टेलिभिजन र ट्याबलेटजस्ता डिजिटल उपकरणबाट टाढा राख्न आग्रह गरिएको छ । फुर्सदको समयमा कथाका पुस्तक पढ्ने, बुझ्ने र रमाउने वातावरण घरमै निर्माण गर्न तथा बेलुकाको समयमा बालबालिकासँग बसेर उनीहरूका कुरा सुन्ने, कथा सुनाउने र कल्पनाशक्तिलाई प्रोत्साहन गर्ने बानी विकास गर्न अनुरोध गरिएको वडाध्यक्ष बम्जनले बताए ।

यससँगै वडाले पठन संस्कृति विकास गर्न दुईवर्षे अभियान पनि सुरु गरेको छ । अभियानअन्तर्गत सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी छन् । रचनात्मक लेखन, प्रस्तुतीकरण तथा आलोचनात्मक विश्लेषणसम्बन्धी नियमित कक्षा सञ्चालन गरिने जनाइएको छ । विद्यार्थी र शिक्षकको पठन सीप सुधार गर्ने उद्देश्यले पाइला फाउण्डेसन नेपाल सँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

अभियानका सहजकर्ता नरेन्द्र नगरकोटीले पठन संस्कृतिलाई आत्मसात् नगर्दा समाजको रचनात्मक क्षमता कमजोर बन्दै गएको बताए । उनका अनुसार बालबालिकाले पुस्तक पढ्ने कि नपढ्ने भन्ने विषयमा घर, विद्यालय, प्रविधि र समाज सबैको प्रभाव रहने गर्दछ । अभिभावक स्वयंले पढ्ने बानी नदेखाए बालबालिकाले पुस्तकको महत्व बुझ्न नसक्ने उनको भनाइ छ ।

यसैबीच सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले वडाले समाल्बुङ माध्यमिक विद्यालय मा ‘स्टिम एजुकेसन’सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित समेटिएको ‘स्टिम एजुकेसन’बारे जानकारी दिन कक्षा ८, ९ र १० का ४० विद्यार्थीलाई लक्षित गरी प्रशिक्षण दिइएको हो । परम्परागत घोकन्ते शिक्षाबाट बाहिर निस्केर विद्यार्थीलाई अनुसन्धानमुखी तथा प्रयोगात्मक सिकाइतर्फ उन्मुख गराउन कार्यक्रम सञ्चालन गरिएको कार्यपालिका सदस्य केसरकुमारी पौडेलले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले केवल सैद्धान्तिक अभ्यासले मात्र शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भन्दै समूहगत छलफल, अनुभव आदानप्रदान र अनुसन्धानमा आधारित सिकाइ आवश्यक रहेको बताए । प्रशिक्षणका सहजकर्ता अस्विन जोशीका अनुसार विद्यार्थीलाई विद्युतीय उपकरणको कार्यप्रणाली, स्वचालित प्रणाली निर्माण तथा ‘थ्रिडी प्रिन्टिङ’को प्रयोगबारे व्यवहारिक सिकाइ गराइएको छ ।

सरकारी विद्यालयमा ‘थ्रिडी प्रिन्टिङ’ अभ्यास दुर्लभ भए पनि वडाले आवश्यक सामग्री उपलब्ध गराएर विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिएको उनले बताए । उनका अनुसार विद्यार्थीले आफूले कल्पना गरेको वस्तु आफैँ डिजाइन र प्रिन्ट गर्न सक्ने भएकाले यसबाट जीवनोपयोगी ज्ञान र सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार