Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

खोरेत रोग नियन्त्रणमा कृषकको जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड

खोरेत रोग नियन्त्रणमा कृषकको जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १० २०८३


खोरेत रोग नियन्त्रणमा कृषकको जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड

इलाम । इलाममा खोरेत रोग नियन्त्रणलाई प्रभावकारी बनाउन कृषक स्वयं नै जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र इलामको आयोजनामा आइतबार आयोजित ‘खोरेत रोग नियन्त्रण आयोजना सम्बन्धी योजना तर्जुमा गोष्ठी’मा सहभागीहरुले रोग नियन्त्रणका लागि सरकारी प्रयाससँगै कृषकको सचेतना र सक्रिय सहभागिता अत्यावश्यक रहेको बताएका हुन् ।

गोष्ठीमा इलाम जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफ्नो पालिकामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन भइरहेका कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएका थिए । सहभागीहरुले भारतसँग खुला सिमाना जोडिएको जिल्ला भएकाले चौपायाको अवैध तथा अनियन्त्रित ओसारपसारका कारण रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे ।

उनीहरुले खोरेत रोगविरुद्ध सञ्चालन हुने खोप अभियानलाई थप प्रभावकारी बनाउन कृषकहरुलाई व्यापक रुपमा सचेत गराउनुपर्ने आवश्यकता औंल्याए । साथै खोप अभियानमा खटिने प्राविधिकहरुलाई उपलब्ध गराइने सेवा–सुविधा तथा पारिश्रमिक न्यून रहेको भन्दै त्यसतर्फ समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा आगामी आर्थिक वर्षमा खोरेत रोग नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहहरुले आवश्यक बजेट विनियोजन गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो । गोष्ठीमा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री ईस्राइल मन्सुरी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार