इलाम । माई नगरपालिका मा आर्थिक वर्ष २०८१र०८२ को समीक्षा तथा चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक (श्रावणदेखि पुषसम्म) प्रगति सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नगरपालिकाले सम्पादन गरेका कामको प्रभावकारिता मूल्यांकन गर्ने, नागरिकको सन्तुष्टि तथा गुनासो सुन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले अव्यवस्थित बसोबासीलाई जग्गा नापजाँच गरी धनीपुर्जा वितरण गर्नुपर्ने, मदन भण्डारी राजमार्गको नक्सांकन स्पष्ट पार्नुपर्ने, माई अस्पताल लाई थप जनशक्ति सहित स्तरीय अस्पतालका रूपमा विस्तार गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।
त्यस्तै आन्तरिक राजस्व वृद्धि, लागू पदार्थ नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, माध्यमिक शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने, अस्पताल सेवा प्रभावकारी बनाउनुपर्ने, जग्गा तथा करको दायरा पुनर्मूल्यांकन गर्नुपर्ने माग समेत गरिएको थियो ।
सहभागीहरूले जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका नगर तथा वडा कार्यालयका संरचनाको पुनर्निर्माण र दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने सुझाव पनि दिएका थिए । साथै सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जनमैत्री बनाउन समय–समयमा सार्वजनिक सुनुवाई गर्नुपर्ने तथा नगर मातहतका सरकारी सवारीसाधनको बीमा गर्नुपर्ने विषय पनि उठाइएको थियो ।
कार्यक्रममा भक्तबहादुर लुङ्गेली, अम्मरबहादुर घिमिरे, लक्ष्मण विश्वकर्मा, चन्द्रमणि पौड्याल, इन्द्रबहादुर राई (दीपक), राम थापा, मित्रप्रसाद गौतम, तारा चम्लागाईं, विर्ख साउदर्न, दीपक पौड्याल, लक्ष्मण आले, संगम सुब्बा, तेजबहादुर घिमिरे, मुखराज आङ्देम्बे र विनोद नेम्बाङ लगायतले सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित प्रश्न तथा गुनासा राखेका थिए ।
उठाइएका प्रश्न तथा सुझावको जवाफ मेयर खम्बासिं लिम्बू, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेल, सव डिभिजन वन कार्यालय सुखानीका प्रमुख ज्ञानेन्द्रबहादुर शाह, लेखा अधिकृत अशोक कट्टेल, योजना अधिकृत हिमाल तिमल्सिना तथा स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल लगायतले दिएका थिए ।
कार्यक्रममा नगरवासी सेवाग्राही, वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
विषयगत शाखाहरूको अर्धवार्षिक अवस्था, नागरिक अभिमत तथा बहिर्गमित अभिमतको प्रतिवेदन समेत प्रस्तुत गरिएको कार्यक्रममा नभ सञ्चार प्रालि विराटनगरको समन्वय तथा सहजीकरण रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार विमल दाहालले गरेका थिए ।