इलाम । इलामको रोङ गाउँपालिकामा संयुक्त राष्ट्र संघको तर्फबाट नेपाल हेर्ने प्रमुखसहितको टोलीले भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय किसानहरूसँग प्रत्यक्ष छलफल गर्नुका साथै चिया, गुन्द्रुक प्रोसेसिङ प्लान्ट, अलैँची बगैँचा, इको चिया सहकारी लगायतका क्षेत्रको अवलोकन गरिएको थियो।

भ्रमणका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा रोङ गाउँपालिकाले अघि सारेका रणनीतिक योजनाप्रति संयुक्त राष्ट्रसंघीय टोलीले विशेष चासो व्यक्त गरेको जनाइएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) मार्फत सञ्चालन भएका तथा आगामी दिनमा प्रस्तावित नयाँ परियोजनाका विषयमा समेत व्यापक छलफल भएको थियो।
कार्यक्रममा टी–टेस्टिङ, फोटो सेशन तथा स्थानीय उत्पादन र सम्भावनाबारे अन्तरक्रिया समेत गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोले जानकारी दिए ।

