Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा आइतबार पनि कार्यालय सञ्चालन हुने

रोङ गाउँपालिकामा आइतबार पनि कार्यालय सञ्चालन हुने

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ५ २०८३


रोङ गाउँपालिकामा आइतबार पनि कार्यालय सञ्चालन हुने

फिक्कल । रोङ गाउँपालिकाले संघीय सरकारको पाँचदिने कार्यालय समय सम्बन्धी निर्णय कार्यान्वयनमा व्यावहारिक समस्या देखिएको भन्दै आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने विकास योजना तथा सेवा प्रवाहमा समय अभाव भएको कारण पुरानै समय तालिका लागू गर्ने जनाएको हो।

संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्ने, कर्मचारीलाई दुई दिन विश्राम दिने तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कार्यालय सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।

तर, नेपालको भौगोलिक अवस्था, सेवाग्राहीको उपस्थितिको समय तथा प्रविधिमैत्री सेवा प्रणालीको सीमित प्रयोगका कारण उक्त निर्णय व्यवहारिक रूपमा प्रभावकारी हुन नसकेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले बताए ।

गाउँपालिकाले ९ बजे कार्यालय खुल्ने व्यवस्था लागू भएदेखि हालसम्म अधिकांश सेवाग्राही बिहान १० बजेअघि कार्यालय नआएको स्याङबोले बताए । गाउँपालिकाले असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने धेरै विकास योजनाहरू रहेको र समय अभावका कारण कार्यसम्पादनमा चाप बढेको जनाएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालय बाहेक अन्य सबै कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो।

अध्यक्ष मनिकुमार स्याङबोले एशियाली देशहरूमा सार्वजनिक बिदा धेरै हुने प्रवृत्ति रहेको उल्लेख गर्दै युरोपेली देशहरूमा भने सार्वजनिक बिदा कम भए पनि तलबसहितको वार्षिक बिदाको व्यवस्था बढी रहेको बताए। उनले स्थानीय आवश्यकता र सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर निर्णय गरिएको स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित समाचार