इलाम । उत्तर कोरियाको महिला फुटबल टोली आठ वर्षपछि पहिलो पटक दक्षिण कोरिया पुगेको छ । एएफसी महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा सहभागी हुन उत्तर कोरियाको नेखोयाङ वुमन्स एफसी आइतबार दक्षिण कोरियाको इन्चोङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
२७ खेलाडी र १२ सदस्यीय प्रशिक्षक टोलीसहित कुल ३९ सदस्य रहेको प्रतिनिधिमण्डल बेइजिङ हुँदै एयर चाइनाको विमानमार्फत दिउँसो करिब २ः५४ बजे इन्छन पुगेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिण कोरिया आउनुअघि टोलीले बेइजिङस्थित उत्तर कोरियाली दूतावास नजिकै अभ्यास गरेको बताइएको छ ।
कालो सुट र एउटै शैलीमा सजिएका खेलाडीहरू अत्यन्त अनुशासित ढंगले विमानस्थलबाट बाहिरिएका थिए । टोलीका सदस्यहरूले आफ्नो कोटमा उत्तर कोरियाका संस्थापक किम इल सङ र वर्तमान नेता किम जङ उनको तस्वीर अंकित ब्याज लगाएका थिए । टोलीको नेतृत्व मुख्य प्रशिक्षक रि यु इलले गरेका थिए ।
विमानस्थलमा पत्रकार, समर्थक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहे पनि टोलीका सदस्यहरूले कुनै प्रतिक्रिया दिएनन् । क्यामेराको फ्ल्यास र सञ्चारकर्मीका प्रश्नहरूको बीच पनि खेलाडीहरू मौन रहँदै बसमा चढेर सुवनतर्फ प्रस्थान गरेका थिए ।
नेखोयाङ वुमन्स एफसीले मे २० देखि २३ सम्म सुवन स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुने प्रतियोगितामा दक्षिण कोरियाको सुवन वुमन्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ । उत्तर र दक्षिण कोरियाबीचको महिला फुटबल भिडन्तलाई लिएर दक्षिण कोरियामा व्यापक चासो देखिएको छ ।
प्रतियोगिताका लागि मे १२ मा खुला गरिएको ७ हजार ८७ टिकट करिब १२ घण्टाभित्रै बिक्री भएको बताइएको छ । टोलीलाई स्वागत गर्न कोरियाली एकता समर्थक संस्था, उत्तर कोरियाबाट आएका शरणार्थी समूह तथा स्थानीय नागरिकहरू विमानस्थल पुगेका थिए ।
स्वागतमा सहभागी एक स्थानीय नागरिकले खेलकुदले दुई कोरियाबीच चिसिएको सम्बन्धलाई पुनः जोड्ने अवसर बन्न सक्ने प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाली टोलीको आगमनलाई मध्यनजर गर्दै इन्चोङ विमानस्थल क्षेत्रमा करिब एक सय प्रहरी परिचालन गरिएको थियो ।
सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको दक्षिण कोरियाली प्रशासनले जनाएको छ ।