Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ को लोगो सार्वजनिक

केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ को लोगो सार्वजनिक

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ ४ २०८३


केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ को लोगो सार्वजनिक

इलाम । पूर्वी नेपालको दिगो पर्यटन विकास, पर्यावरण संरक्षण तथा स्थानीय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको “केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३” को आधिकारिक लोगो सार्वजनिक गरिएको छ । इलाम नगर पर्यटन समितिको आयोजनामा आगामी २०८३ साल जेठ २३ र २४ गते सञ्चालन हुने कार्यक्रम इलाम नगरपालिकाको कार्यालयमा नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णु लिम्बु दाहाल, इलाम–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का लगायतको उपस्थितीमा सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई केचना देखि कञ्चनजङ्घा क्षेत्रसम्म जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने रणनीतिक अभियानका रूपमा हेरिएको आयोजकले जनाएको छ । कार्यक्रममार्फत इलामलाई पूर्वी नेपालको प्रवेशद्वार तथा नमुना पर्यटन गन्तव्यको रूपमा स्थापित गर्दै स्थानीय पर्यटन विकास र क्रस–बोर्डर टुरिजमलाई थप सशक्त बनाउने लक्ष्य लिइएको छ । साथै पर्यटनसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच संवाद, सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गरिने बताइएको छ ।

आयोजकका अनुसार समुद्री सतहबाट नेपालको सबैभन्दा होचो स्थान झापाको केचना देखि विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म फैलिएको जैविक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई जिम्मेवार पर्यटनको अवधारणासँग जोडेर प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यस अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्दा प्रकृति, स्थानीय संस्कृति, वन्यजन्तु तथा पर्यावरणलाई असर नपुग्ने गरी आर्थिक लाभ सिर्जना गर्ने विषयमा बहस, छलफल तथा कार्यदिशा तय गरिने आयोजकले जनाएको छ । विशेषगरी रेड पाण्डा, रैथाने हात्ती, चिया बगानको पर्यावरण तथा स्थानीय जीवनशैली संरक्षणलाई प्राथमिकतामा राखिनेछ ।

दुई दिने कार्यक्रमअन्तर्गत लेण्डरोभर र्याली, पर्यटनसम्बन्धी प्रस्तुतिकरण, सांस्कृतिक झाँकी प्रदर्शन, प्यानल छलफल, पर्यटकीय गन्तव्यहरूको भ्रमण, पुरस्कार तथा सम्मान कार्यक्रम, फोटो तथा भिडियो प्रदर्शनी, सांस्कृतिक साँझ, रैथाने खानाका परिकारको प्रदर्शनी तथा हस्तकलाका सामग्री बिक्री र प्रदर्शनी लगायतका विविध गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 कार्यक्रममार्फत स्थानीय कला, संस्कृति, पर्यटन सम्भावना र पर्यावरणीय चेतनालाई एकैसाथ प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा नेपाल तथा भारतका जनप्रतिनिधि, प्रतिष्ठित पर्यटन व्यवसायी, वातावरणविद्, सरकारी प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

आयोजकले उक्त कार्यक्रमले पूर्वी नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै दिगो तथा जिम्मेवार पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार