ऐरावती प्रकाशनले नेपाली भाषा अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इलाम र झापामा दुईदिने ‘नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक लेखन कार्यशाला’ र पाठ्यक्रम परामर्श सम्पन्न गरेको छ । शनिबार इलामको चुलाचुली गाउँपालिकामा तथा आइतबार झापामा सम्पन्न कार्यक्रममार्फत करिब दुई सयभन्दा बढी शिक्षक लाभान्वित भएका छन् ।
इलामको चुलाचुलीमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चुलाचुली को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय आइतबारेस्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाभरिका करिब एक सय शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली भाषा शिक्षणका आधुनिक तौरतरिका, पाठ्यक्रम निर्माण, सिकाइ सहजीकरण, कक्षाकोठामा शिक्षकको भूमिका, सिकाइ उपलब्धि मूल्याङ्कन, पाठ योजना निर्माण तथा गीत–कविता लेखनजस्ता सिर्जनात्मक विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा नेपाली पाठ्यपुस्तकका लेखक, समालोचक तथा शिक्षाविद् प्रा.डा देवी नेपाल ले सहजीकरण गरेका थिए । उनले नेपाली भाषा शिक्षणलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहार, प्रस्तुति र सिर्जनात्मक अभ्याससँग जोड्नुपर्नेमा जोड दिएका थिए । उनका अनुसार विद्यार्थीको भाषिक विकासका लागि शिक्षक स्वयं सिर्जनशील हुन आवश्यक छ । शिक्षकले कक्षा कोठामा पढाउने भन्दा पनि सिकाउने गरे नेपालमा विद्यार्थीको उत्तिर्ण दर ह्वात्तै बढ्ने उनको दाबी थियो ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ ले निजी र सामुदायिक विद्यालयबीचको खाडल अब हटाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले सामुदायिक विद्यालयका विद्यार्थीले पाउने सुविधा निजी विद्यालयका विद्यार्थीले नपाउने अवस्था अब अन्त्य गरिने बताए ।
पछिल्ला दुई वर्षयता चुलाचुली गाउँपालिका इलाम जिल्लामै उत्कृष्ट नतिजा ल्याएर प्रथम भएको उल्लेख गर्दै उनले त्यसको श्रेय शिक्षकहरूको मेहनतलाई दिए । ‘यो उपलब्धि पालिकाको होइन, कक्षाकोठामा जिम्मेवारीपूर्वक काम गर्ने तपाईँ शिक्षकहरूको हो,’ उनले भने । कार्यक्रम पदम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । सापकोटा प्याब्सन चुलाचुली इलामका अध्यक्ष हुन् ।
कार्यक्रममा सहभागी शिक्षक समीक्षा अधिकारी र घनश्याम पौडेलले लामो समयपछि यस्तो उपयोगी तालिम प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । शिक्षक घनश्याम पौडेलले २७ वर्ष शिक्षण अनुभव भए पनि पहिलोपटक यति व्यवहारिक र सिर्जनात्मक तालिम पाएको बताए । ‘अब मेरो कक्षाकोठाको प्रस्तुति पहिलेभन्दा फरक हुनेछ,’ उनले भने ।
कार्यक्रममा सहभागी शिक्षकहरूले राज्यले सामुदायिक विद्यालयका शिक्षकलाई मात्र तालिम तथा सुविधा उपलब्ध गराउने तर निजी विद्यालयका शिक्षकलाई उपेक्षा गर्ने गरेको गुनासो समेत गरेका थिए । उनीहरूले निजी विद्यालयका शिक्षक पनि शिक्षाक्षेत्रकै अभिन्न अंग भएकाले समान अवसर आवश्यक रहेको धारणा राखे ।
यता आइतबार झापामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९एन प्याब्सन० झापा को आयोजनामा नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक सिकाइसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । झापाको झिलझिलेस्थित वाटर किङ्डम पार्कमा आयोजित कार्यक्रममा जिल्लाभरिका सदस्य विद्यालयका १०७ शिक्षकको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ ले नेपाली विषय अध्यापन गराउने शिक्षकलाई अझै पनि कम महत्व दिने प्रवृत्ति रहेको टिप्पणी गरे । ‘गणित र विज्ञान पढाउने शिक्षकलाई फरक ढंगले हेरिन्छ, तर भाषा विषय झन् बढी जिम्मेवारीको विषय हो,’ उनले भने । भाषा सूत्र र फर्मुलाको विषय नभई व्यक्तित्व निर्माण, सिर्जना र अभिव्यक्तिको आधार भएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी शिक्षक सन्तोष खत्रीले ऐरावती प्रकाशन द्वारा प्रकाशित प्रा।डा। देवी नेपाल, प्रा।डा रामप्रसाद ज्ञवाली, डा। गणेश भट्टराई र धिर कुरार श्रेष्ठले लेखेका नेपाली भाषाका पुस्तकहरू अन्य प्रकाशनका तुलनामा गहकिला, व्यवहारिक र विद्यार्थीमैत्री रहेको बताए । संगठनका अध्यक्ष प्रेम शर्मा ले डा। देवी नेपालको प्रस्तुति आफूले यसअघि प्राप्त गरेका अन्य तालिमभन्दा फरक र अत्यन्त उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए ।
प्रकाशनका प्रबन्ध निर्देशक आनन्द तिवारी ले मुलुकका ७७ वटै जिल्लाबाट नेपाली भाषा शिक्षणसम्बन्धी सहजीकरणका लागि माग आउने गरेको बताए । शिक्षकहरूको आवश्यकता र बदलिँदो शिक्षण शैलीलाई ध्यानमा राखेर यस्ता कार्यक्रम देशभर सञ्चालन गरिने उनले जानकारी दिए ।
यसअघि आइतबार बिहान बिर्तामोडस्थित ग्रीनफिल्ड एकाडेमी र बाल्मिकी एजुकेसन फाउन्डेसन मा अध्यापन गराउने नेपाली विषयका शिक्षकहरूसँग पनि प्रा।डा। देवी नेपालले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा नेपाली भाषा शिक्षणलाई अझ व्यवहारिक र सिर्जनात्मक बनाउने उपायबारे छलफल भएको थियो ।
पछिल्ला दिनहरूमा ऐरावती प्रकाशन ले पुस्तक प्रकाशनमा मात्र सीमित नरही शिक्षकहरूको पेशागत विकास, नेपाली भाषा शिक्षणको गुणस्तर वृद्धि तथा सिर्जनात्मक सिकाइ प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । देशभरिका शिक्षकसँग प्रत्यक्ष सहकार्य गर्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यालयका शिक्षकहरूमा नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।