इलाम । प्रथम बुद्ध राई स्मृति खुल्ला प्रदेशस्तरीय ‘बी’ लेभल तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय ‘बी’ लेभलको फाइनलमा उत्सव उप्रेती र जुनुन राईको जोडीले योदेश राई र अनमोल राईको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
उत्सव उप्रेती र जुनुन राईको जोडीले सेमिफाइनलमा शैलेश आङदाम्बे र किरण श्रेष्ठको जोडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। यस्तै योगेश र अनमोलको जोडीले विशाल पराजुली र निरज सिलवालको जोडीलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।
आन्तरिकतर्फको सेमिफाइनलमा जुनुन राई र पुष्कर बुर्जाको जोडीले सन्दीप राई र राहुल दासको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा राजन थापा र उमेश सिजालीको जोडीले सूर्य राई र अजित गुरुङको जोडीसँग खेल्ने आयोजकले जनाएको छ।
इलाम ब्याडमिन्टन क्लबको आयोजना जेठ १ गतेबाट सुरु भएको प्रतियोगिताको दुवै विधाको फाइनल खेल आज जिल्ला प्रहरी कार्यालयको कभर्डहलमा सञ्चालन हुनेछ।
प्रतियोगिताको ‘बी’ लेभलतर्फ विजेता टोलीले नगद ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै आन्तरिकतर्फ प्रथम हुने टोलीलाई १२ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार रुपैयाँ र तृतीय हुने टोलीलाई ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।