Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामकी निशम सुब्बालाई राष्ट्रिय ब्याडमिन्टनको महिला डबल्समा रजत पदक

इलामकी निशम सुब्बालाई राष्ट्रिय ब्याडमिन्टनको महिला डबल्समा रजत पदक

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ३ २०८३


इलामकी निशम सुब्बालाई राष्ट्रिय ब्याडमिन्टनको महिला डबल्समा रजत पदक

इलाम । चार वर्षपछि आयोजना भएको ४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विभागीय टोलीहरूको दबदबा रहे पनि कोशी प्रदेशकी युवा खेलाडी निशम सुब्बाले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपस्थिति बलियो बनाएकी छन् । इलामकी निशमले महिला डबल्सतर्फ उदयपुरकी रोजी राईसँग मिलेर फाइनल यात्रा तय गर्दै रजत पदक जितेकी हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको महिला डबल्स फाइनलमा निशम–रोजीको जोडी आर्मी क्लबकी रशिला महर्जन र अमिता गिरीसँग २१–१७, २१–१७ को सोझो सेटमा पराजित भयो । उपाधि जित्न नसके पनि राष्ट्रिय स्तरको प्रतियोगितामा फाइनलसम्म पुग्नु निशमका लागि महत्वपूर्ण उपलब्धि बनेको छ ।

इलामबाट राष्ट्रिय स्तरसम्मको यात्रा तय गरेकी निशमले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरिन् । विभागीय टोलीहरूको बलियो प्रतिस्पर्धाबीच उनले कोर्टमा देखाएको आत्मविश्वास र समन्वयले दर्शकको ध्यान तानेको थियो । यस प्रतियोगितामा महिला सिंगल्सतर्फ आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बनिन् ।

पुरुष सिंगल्समा एपीएफका प्रिन्स दाहाल विजयी भए । रशिला र प्रिन्सले डबल्सतर्फ पनि स्वर्ण जित्दै प्रतियोगितामा दोहोरो सफलता हात पारे । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीका १ सय १५ खेलाडीले पाँच विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा तीन स्वर्ण जित्दै त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार