फाकफोकथुम गाउँपालिका को रोजगार सेवा केन्द्रको आयोजनामा आन्तरिक रोजगारी प्रवर्द्धनका लागि वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित सातदिने उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय सचेतना तालिम सम्पन्न भएको छ।
वैशाख १८ गतेदेखि सञ्चालन गरिएको उक्त तालिम वडा नं ४ मा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं। ४ का वडाध्यक्ष पदम बहादुर दर्लामी मगर को उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा तालिममा सहभागी १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
रोजगार सेवा केन्द्र फाकफोकथुम इलामकी सहजकर्ता भावना भारती ले तालिमबाट हासिल गरेको सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीलाई सुझाव दिएकी थिइन्।
त्यसैगरी रोजगार सेवा केन्द्र फाकफोकथुमका प्रमुख दिपक राई ले आगामी दिनमा विभिन्न सीपमूलक तालिम लिन इच्छुक युवालाई सम्बन्धित तालिम केन्द्रहरूसँग समन्वय गरी सहभागी गराइने जानकारी दिए।
उनले वैदेशिक रोजगारमा जाने तथा फर्किएका युवालाई समस्या समाधान, अनलाइनमार्फत श्रम स्वीकृति तथा पुनः वैदेशिक रोजगारसम्बन्धी आवश्यक जानकारीसमेत प्रदान गरिएको बताए। कार्यक्रमकै अवसरमा वडा नं ४ मा पदम बाग्दास को नेतृत्वमा १६ सदस्यीय “वैदेशिक रोजगार उद्यमशील प्रवर्द्धन समिति” गठन गरिएको छ।
समितिको उपाध्यक्षमा टिका पराजुली, सचिवमा महन ढकाल, कोषाध्यक्षमा राम बहादुर मगर तथा सहसचिवमा हरि बलम्पाकी मगर चयन भएका छन्। समितिका सदस्यहरूमा दुर्गा बहादुर मगर, देउ बहादुर मगर, माधव घिमिरे, लिला बहादुर लिम्बु, सही बहादुर बराइली, फर्षमान मगर, रविन मगर, बालिदप मगर, सोम बहादुर मगर र इन्द्र तिरूवा रहेका छन्।