इलाम — नेपाल मगर संघ इलाम को ११ औँ अधिवेशनको उद्घाटन सत्रमा मगर समुदायका लागि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने महत्वपूर्ण घोषणा गरिएको छ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली मगरले मगर समुदायका एकल मगर, एकल महिला मगर तथा नाबालकहरूको हकमा अदालतमा निःशुल्क बहस तथा पैरवी गरिदिने घोषणा गरेका हुन् ।
उनले आर्थिक अवस्था कमजोर भएका तथा न्यायमा सहज पहुँच नभएका समुदायका व्यक्तिलाई कानुनी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो पहल गरिएको बताए। साथै, यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक कार्यविधि निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा सहभागीहरूले यस घोषणालाई स्वागत गर्दै मगर समुदायको अधिकार संरक्षण तथा न्यायमा पहुँच विस्तारका लागि महत्वपूर्ण कदम भएको बताएका थिए। त्यसैगरी इश्वर लुङ्गेली मगरले आगामी कार्यकालका पदाधिकारीहरूले आवश्यक कार्यविधि निर्माण गरी योजनालाई व्यवहारमा कार्यान्वयन गर्ने बताए ।