इलाम । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा माई नगरपालिकाको सभा हलमा “नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षता तथा माई नगरपालिकाका नगर प्रमुख खम्बसिंह लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा माई नगरपालिकाकी उप(प्रमुख हिमा भण्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पदाधिकारी, सम्पूर्ण वडाका वडा अध्यक्ष, सञ्चारकर्मी, कार्यपालिका सदस्य, वडा सदस्य, गरुवा बहुमुखी क्याम्पसका प्रमुख, नेपाल रेडक्रस सोसाइटी माईका सभापति, उद्योग वाणिज्य संघ माई नगरपालिकाका अध्यक्ष, कन्काई माध्यमिक विद्यालयका प्रधानाध्यापक, बजार व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सेवा प्रवाह, शान्ति सुरक्षा, नागरिकका गुनासा, सुझाव तथा जिज्ञासाका विषय उठाएका थिए । उठाइएका विषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदिप चन्द तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सम्बोधन गर्दै नागरिकमैत्री सेवा, प्रभावकारी सुरक्षा व्यवस्था तथा प्रशासनिक समन्वयलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी चौकी दानाबारी इलामको निरीक्षण समेत गर्नुभएको थियो । निरीक्षणका क्रममा त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।