Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बढ्दो ब्याडमिन्टन क्रेज, खेलाडी उत्पादनमा सक्रिय जिल्ला संघ

इलाममा बढ्दो ब्याडमिन्टन क्रेज, खेलाडी उत्पादनमा सक्रिय जिल्ला संघ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २५ २०८३


इलाममा बढ्दो ब्याडमिन्टन क्रेज, खेलाडी उत्पादनमा सक्रिय जिल्ला संघ

इलाम : पूर्वी पहाडको जिल्ला इलाममा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । विद्यालयदेखि स्थानीय क्लबसम्म अहिले ब्याडमिन्टन प्रतियोगिता र प्रशिक्षण कार्यक्रम नियमित जस्तै बन्न थालेका छन् । खेलप्रतिको यही उत्साहले इलामबाट प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन थालेका छन् ।

हालै धरानमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट कोशी प्रदेशका लागि छनोट भएका १२ खेलाडीमध्ये इलामका दुई खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । महिलातर्फ निशाम हाङ्मा सुब्बा र पुरुषतर्फ दिवश शंकर छनोट भएका हुन् । उनीहरू आगामी बैशाख ३०, ३१ तथा जेठ १ र २ गते काठमाडौं मा आयोजना हुने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुँदैछन् ।

सूर्योदय नगरपालिका–३ रुङसुङ निवासी निशाम हाङ्मा सुब्बाले पछिल्लो समय महिला सिंगल, महिला डबल र मिक्स डबल विधामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न प्रतियोगितामा पदक जित्दै आएकी छन् । निरन्तर अभ्यास र प्रतिस्पर्धात्मक खेलकै कारण उनी अहिले राष्ट्रिय स्तरतर्फ अघि बढिरहेकी छन् ।

त्यसैगरी प्रशिक्षक समेत रहेका दिवश शंकरले खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । जिल्ला ब्याडमिन्टन संघ इलामले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । हाल उनी १५ वर्षमुनिका करिब २० जना खेलाडीलाई नियमित प्रशिक्षण गराइरहेका छन् । युवा खेलाडी उत्पादनमार्फत प्रदेश र राष्ट्रिय स्तरमा इलामलाई स्थापित गर्ने लक्ष्य संघले राखेको छ ।

जिल्ला ब्याडमिन्टन संघ इलामका अध्यक्ष हुकुमलाल थेबे का अनुसार आगामी जेठ १, २ र ३ गते बी–लेभल कोशी प्रदेशस्तरीय खुला तथा आन्तरिक जिल्ला प्रतियोगिता आयोजना गरिने तयारी भइरहेको छ । साथै २०८३ मंसिरमा विभिन्न विधामा खुला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना समेत संघले अघि सारेको छ ।

थेबेको नेतृत्वमा गत वर्ष कोशी प्रदेशस्तरीय खुला तथा भेट्रान्स राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएको थियो । त्यस्तै नीजि तथा आवासिय विद्यालय संघ (प्याब्सन) इलामसँगको सहकार्यमा यू–११, यू–१३ र यू–१७ उमेर समूहका प्रतियोगिताहरू समेत आयोजना गरिएको थियो । यसले विद्यालय तहदेखि नै खेलाडी उत्पादनको आधार तयार गरिरहेको देखिन्छ ।

इलाममा ब्याडमिन्टनको लोकप्रियता बढ्दै जाँदा कभर्डहल निर्माणको क्रम पनि विस्तार भइरहेको छ । हाल कृष्ण भक्तराज मेमोरियल कभर्डहल मा नियमित अभ्यास भइरहेको छ । त्यसैगरी मंगलबारे, देउराली, जिल्ला प्रहरी कार्यालय परिसर, विब्ल्याटे, इलाम नगरपालिका–३ बाघखोर, सूर्योदय नगरपालिका–१० फिक्कल को कान्दुक फुटसल तथा रोङ गाउँपालिका हाँसपोखरी मा समेत कभर्डहल सञ्चालनमा रहेका छन् । इलाम नगरपालिका–९ र इलाम नगरपालिका–१ मा नयाँ कभर्डहल निर्माणको काम समेत अगाडि बढिरहेको छ ।

यद्यपि सदरमुकाम बाहिर अझै सुविधासम्पन्न इन्डोर हलको अभाव रहेको खेलकर्मीहरू बताउँछन् । तर पछिल्लो समय युवाहरूको बढ्दो आकर्षण, स्थानीय तहको सहयोग र जिल्ला संघको सक्रियताले इलाममा ब्याडमिन्टनको भविष्य उज्यालो बन्दै गएको छ ।

एक समय सीमित व्यक्तिको खेल मानिने ब्याडमिन्टन अहिले इलामका गाउँ–गाउँमा फैलिन थालेको छ । नियमित प्रतियोगिता, प्रशिक्षण र पूर्वाधार विस्तारले अब इलामलाई राष्ट्रिय स्तरका उत्कृष्ट ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा स्थापित गर्ने अध्यक्ष थेवेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार