फिक्कल । अलैची उत्पादनमा गिरावट आउन थालेपछि इलामका किसानलाई आधुनिक प्रविधिसँग जोड्न कृषक पाठशाला सञ्चालन गरिएको छ। अलैची विकास केन्द्र फिक्कलको आयोजनामा रोङ गाउँपालिका–५ चिसापानी र माईजोगमाई गाउँपालिका–५ सोयाङमा यस्तो पाठशाला सञ्चालनमा ल्याइएको हो।
२०८२ फागुन ११ गतेदेखि सुरु भएको पाठशाला २०८३ असार ३२ गतेसम्म चल्नेछ। परम्परागत खेती प्रणालीका कारण रोगको प्रकोप बढ्दै उत्पादन घटेपछि किसानलाई प्राविधिक ज्ञानमार्फत उत्पादन वृद्धि गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
पाठशालामा अलैचीका चार वटा प्रजातिका आधारमा किसानको समूह बनाएर प्रशिक्षण दिइँदै आएको छ। सहभागी किसानले आफ्नै बारीमा एउटा प्लट र अलैची विकास केन्द्रले छुट्टै एक रोपनी क्षेत्रफलमा नमुना प्लट तयार गरी अलैची रोपेका छन्। अन्त्यमा दुवै प्लटको उत्पादन तुलना गरी प्रभावकारिता मूल्याङ्कन गरिनेछ।
कार्यक्रममा रासायनिक विषादीको सट्टा जैविक र प्राङ्गारिक विषादी प्रयोगमा जोड दिइएको छ। यसले स्वस्थ उत्पादनसँगै माटोको उर्वराशक्ति जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रोङ–५ चिसापानीका किसान दुर्गा राईका अनुसार पाठशालाले खेती गर्ने तरिकामै परिवर्तन ल्याएको छ।
“हामी पहिले पुख्र्यौली तरिकाले खेती गर्थ्यौँ, अहिले प्राविधिक सहयोग पाएपछि मलजल, औषधि र व्यवस्थापनका धेरै कुरा सिकेका छौँ,” उनले भने “अहिले अलैची राम्रोसँग फल्ने क्रममा छ, उत्पादन कति हुन्छ भन्ने असार–साउनमा टिपेपछि थाहा हुन्छ। तर थोरै बगानबाट पनि बढी उत्पादन लिन सकिन्छ भन्ने विश्वास बढेको छ।”
अलैची विकास केन्द्रका प्राविधिक दिलकुमार श्रेष्ठका अनुसार कृषक पाठशालाको विशेषता भनेको किसानकै खेतबारीमा पुगेर प्रत्यक्ष अभ्यासमार्फत सिकाइ गर्नु हो। “अलैचीको कृषक पाठशाला भनेको कृषकको खेतबारीमै गएर गरिन्छ,” उनले भने, “लगाएदेखि उत्पादनसम्म किसानसँग प्रत्यक्ष जोडिएर काम गर्दै आएका छौँ। परम्परागत रूपमा गरिएको खेतीमा रोग देखिएर उत्पादन घटेपछि यो कार्यक्रम सुरु गरिएको हो। अब प्राविधिक रूपमा नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन बढाउने लक्ष्य राखिएको छ।”
अलैची विकास केन्द्रका कार्यालय प्रमुख राजु ढकालका अनुसार विगतमा बीउबाट बिरुवा उत्पादन गरिँदै आएकोमा अहिले टिस्यु कल्चर प्रविधिबाट गुणस्तरीय बिरुवा उत्पादन सुरु गरिएको छ। “टिस्यु कल्चरबाट उत्पादन गरिएका बिरुवाले बीउको तुलनामा एक वर्ष अगावै उत्पादन दिन्छन्,” उनले भने, “किसानलाई आधुनिक प्रविधि अपनाएर कसरी उत्पादन र आम्दानी बढाउने भन्ने विषयमा केन्द्रित भएर पाठशाला सञ्चालन गरिएको हो।”
कार्यक्रमको मुख्य उद्देश्य स्वस्थ उत्पादन सुनिश्चित गर्दै किसानको उत्पादन र आम्दानी वृद्धि गर्नु रहेको छ। स्थानीय स्तरमै प्रविधि हस्तान्तरण गर्दै सञ्चालन गरिएको कृषक पाठशालाले इलाममा अलैची खेतीलाई पुनः व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ।