Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा मिटरब्याज विरुद्ध आन्दोलनको ज्ञापन पत्र बुझाइयो

इलाममा मिटरब्याज विरुद्ध आन्दोलनको ज्ञापन पत्र बुझाइयो

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २२ २०८३


इलाममा मिटरब्याज विरुद्ध आन्दोलनको ज्ञापन पत्र बुझाइयो

इलाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल (पूर्वी प्रदेश कमाण्ड), जिल्ला समिति इलाम ले जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापन पत्र बुझाउँदै मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न माग गरेको छ।

जिल्ला अध्यक्ष डम्बर गदालद्वारा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई बुझाएको ज्ञापन पत्रमा देशव्यापी रूपमा फैलिएको आर्थिक शोषण र सामाजिक विकृतिका रूपमा रहेको मिटरब्याजको समस्या विरुद्ध आफूहरू विगत पाँच वर्षदेखि निरन्तर संघर्षरत रहेको उल्लेख गरिएको छ। आन्दोलनले पटक–पटक सरकारसँग वार्ता तथा सहमति भए पनि ती सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गरेको छ।

आन्दोलनका अनुसार कानुनी जटिलता र कमजोर कार्यान्वयनका कारण पीडितहरूले अझै पनि न्याय पाउन सकेका छैनन्। यसले उनीहरूको मानसिक तथा शारीरिक अवस्थासमेत कमजोर बन्दै गएको दाबी गरिएको छ।

ज्ञापन पत्रमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत गठन गरिएको मिटरब्याज समस्या समाधान संयन्त्रले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइएको छ। पीडितहरूको निवेदनमा ढिलो सुनुवाइ, दोषीमाथि कारबाहीको अभाव र पीडितमाथि नै दबाब सिर्जना हुने जस्ता समस्याहरू रहेको उल्लेख गरिएको छ।

आन्दोलनले मिटरब्याज समस्याको तत्काल समाधान, दोषीमाथि कडा कारबाही र पीडितहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ। साथै, मागहरू बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार