इलाम । तेश्रो इलाम गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) लाई २–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । उपाधिसंगै मछिन्द्रले नगद १० लाख रुपैया प्राप्त गरेको छ । उपविजेता एनआरटीले नगद ५ लाख रुपैया प्राप्त गरेको छ ।
मछिन्द्रको जितमा सौरभ सुब्बा र मिलन चाम्लिङले गोल गरे । मछिन्द्रले इलाम गोल्डकपको दोश्रो सहभागितामा उपाधि जितेको हो । न्यूरोड टिमले इलाम गोल्डकपमा पहिलो पटक उपाधि जित्न असफल भएको हो । यसअघि पहिलो संस्करणमा विर्तामोड युनाइटेड र दोश्रो संस्करणमा लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै उपाधि जितेको थियो ।
मछिन्द्र यसअघि क्वाटरफाइनलमा रेडस्टार झापासंग पराजित बन्दै बाहिरिको थियो । फाइनल खेलको म्यान अफ द म्याच मछिन्द्रका प्रदीप बुढाथोकी घोषित हुँदै नगद रु ८ हजार १ सय प्राप्त गरे । व्यक्तिगत विधातर्फ मछिन्द्रको वर्चस्व रहयो । उत्कृष्ट गोलरक्षक प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर युवराज ढकाल, सर्वाधिक गोलकर्ता मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल घोषित भए ।
उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ घोषित भए । उनीहरूले जनही रु १५ हजारसहित ट्रफी प्राप्त गरे । उदीयमान खेलाडी रेडहर्सका विवेक सुनाम घोषित भए । उनले नगद रु २५ हजारसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका सनिस श्रेष्ठ घोषित हुँदै ५१ हजारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा दाताहरु र पत्रकारलाई सम्मान गरिएको थियो । प्रतियोगिताको तेश्रो संस्करणमा पत्रकार भगिरथ भण्डारीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको अवसरमा रेडहर्स फुटबल क्लब र इलाम नगरपालिका बिच सम्झौता समेत गरिएको छ ।
इलाम गोल्डकप आयोजनाका लागि हरेक बर्ष ११ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गर्ने गरि सम्झौता गरिएको हो । सम्झौतापत्रमा नगर प्रमुख केदार थापा र रेडहर्सका अध्यक्ष सजितसिंह खत्रीले हस्ताक्षर गरे । गत बैशाख ५ गतेबाट इलामको ठुलो टुडिखेलमा संचालन भएको प्रतियोगितामा नेपाल र मलेसियाको ८ टिमको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष सजितसिंह खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।