तेस्रो इलाम गोल्डकपको फाइनलमा साविक विजेता न्यूरोड टिम (एनआरटी) र पहिलो पटक उपाधि नजिक पुगेको मछिन्द्र फुटबल क्लब आमनेसामने हुँदैछन् । पछिल्लो महिना राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरेका २ टोली इलामे दर्शकहरु माझमा आफुलाई प्रमाणित गर्ने अवसर खोजिरहेका छन् ।
एनआरटी इलाम गोल्डकपको इतिहासमा लगातार दुई संस्करण जितेर ह्याट्रिकको खोजीमा छ भने मछिन्द्र पहिलो पटक इलामको ट्रफी उचाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । एनआरटीले चित्लाङ एफसी र रोलिङ क्लब धुलाबारीलाई हराउँदै फाइनलमा स्थान बनाउँदा मछिन्द्रले एन पेनाङ मलेसिया र पथरी–११ माथि जित दर्ता गरेको हो ।
यी दुई टोलीबीच भएका भेटहरू सधैं प्रतिस्पर्धात्मक र चासोपूर्ण बनेका छन् । चाहे मोफसलका प्रतिष्ठित प्रतियोगिता हुन् वा राजधानीका नकआउट फुटबल, मछिन्द्र र एनआरटीको भिडन्तले सधैं समर्थकको ध्यान तानेको छ । पछिल्लो रेकर्डमा मछिन्द्रले राष्ट्रिय लिग, केपी ओली कप लगायतको प्रतियोगितामा एनआरटी माथि जित दर्ता गरेको थियो ।
मछिन्द्र सन २००४ मा ए डिभिजन लिगमा बढुवा भए यता १० संस्करणको ए डिभिजन लिगमा प्रतिस्पर्धा भइसकेको छ । इलामको मैदानमा अघिल्लो संस्करणमा सहभागि मछिन्द्र क्लब रेडस्टार झापासंग पराजित हुन पुगेको थियो । एनआरटीको विशेषता अनुभव, संयम र निर्णायक क्षणमा नतिजा निकाल्ने क्षमता हो । इलामको मैदानमा टोलीले दबाबमा पनि आफूलाई प्रमाणित गरिसकेको छ । विशेषगरी फाइनल खेलमा एनआरटीको मानसिक बल निकै मजबुत मानिन्छ ।
अर्कोतर्फ, मछिन्द्र पछिल्ला वर्षहरूमा नेपाली क्लब फुटबलको बलियो नाम बनेको छ । राष्ट्रिय लिगमा शिर्ष स्थान र मोफसल प्रतियोगितामा पनि क्लबले आफ्नो प्रभाव बढाउँदै आएको छ । पछिल्लो पटक झापा गोल्डकपको उपाधि समेत जितिसकेको छ । दुवै टोलीबीचको पछिल्लो भेटहरूमा गोल कम भए पनि प्रतिस्पर्धा तीव्र देखिएको छ । धेरै खेलहरू एक गोलको अन्तरमा टुंगिएका छन्, जसले यी दुई टोलीबीचको स्तर कति नजिक छ भन्ने देखाउँछ ।
व्यक्तिगत प्रतिभाभन्दा सामूहिक रणनीति निर्णायक बन्ने संकेत यसअघिका खेलहरूले दिएका छन् । एनआरटीका लागि यो फाइनल इतिहास जोगाउने अवसर हो । लगातार तेस्रो उपाधि जितेर इलाम गोल्डकपमा आफ्नो वर्चस्व अझ बलियो बनाउन चाहन्छ । युवा खेलाडीहरु एनआरटी क्लबमा छन् । अनुभवी खेलाडीहरुले भरिएको मछिन्द्र क्लब रहेको छ । दुवै टिममा यस पटक इलामको मैदानमा नेपाली खेलाडीहरु मात्र देखिनेछन् ।
एनआरटीबाट राष्ट्रिय टिमका विशाल सुनार, आशिष गुरुङ, शिशिर लेखी, आदित्य शाक्य, रन्दीप पौडेल मैदान उत्र्दैछन् । उमेर समुहका जन्मेजय धामी, लक्षु थापा मगर, राजिव लोप्चन, विज्ञान खड्का लगायतका खेलाडीहरु हुनेछन् ।
अनुभवी खेलाडीले भरिएको मछिन्द्रमा राष्ट्रिय टिमका अनुभवी विशाल श्रेष्ठ, सनिश श्रेष्ठ, देवेन्द्र तामाङ, मिलन चाम्लिङ, रोमन भुजेलसंगै उमेर समुहका अविनाश स्याङतान, दिपेश गुरुङ जस्ता खेलाडीहरु मैदानमा हुनेछन् । मछिन्द्र क्लब पूर्व राष्ट्रिय टिमका प्रशिक्षक प्रवेश कट्वाल र एनआरटी श्याम मालीको प्रशिक्षणमा मैदान उत्र्दैछन् ।