अन्तुडाँडा । सुर्योदय पर्यटनले प्रख्यात इलामको अन्तुडाँडा क्षेत्रमा चारदिने पर्यटन पत्रकारीता तालिम शुरु भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको सहयोग र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा चारदिने पत्रकारीता तालिम अन्तुडाँडामा शुरु भएको हो । तालिमको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भिम पराजुलीले उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले पर्यटनको राजधानीसँगै सगरमाथा भएको कोशी प्रदेशको पर्यटन विकासमा मन्त्रालयको बजेट कम भएको बताए ।
पर्यटन क्षेत्रमा प्रदेश सरकारको सिलिङ ६० करोड मात्रै छ उनले भने–‘पर्यटनको संभावना भएको क्षेत्रहरु धेरै भएपनि लगानी गर्ने बजेट अभाव छ ।’ बजेटको आकार सानो भएपनि आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह मिलेर केहि ठुला योजनाहरु संचालन गर्ने योजना रहेको मन्त्री पराजुलीले कार्यक्रममा जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि पत्रकारीता क्षेत्रको भुमिका महत्वपूर्ण भएकाले सबै एक भएर लाग्नुपर्नेमा मन्त्री पराजुलीले जोड दिए । उद्घाटन सत्रमा उपस्थित सुर्योदय नगरपालिका कार्यवाहाक नगर प्रमुख दुर्गाकुमार बरालले पर्यटकीय नगरपालिका सुर्योदय भित्रका सबै पर्यटकीय गन्तव्यमा पुगेर कमल चलाउन उपस्थित पत्रकारहरुलाई आग्रह गरे ।
सुर्योदय नगरपालिकाले इलाम क्षेत्र नं १ को एकिकृत पर्यटन विकासका लागि नेतृत्वदायी भुमिका निर्वाहा गर्ने नगर प्रमुख बरालले जानकारी दिए । एकिकृत पर्यटन विकासका लागि नगरपालिकाले ५ वटै स्थानीय तहसँग समन्वय गर्दैै आएको बरालले बताए । उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले केचना कंचनजंघा कोरीडोरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागी पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाई, पाँचथर अध्यक्ष भिम बास्कोटाले पर्यटन प्रवद्र्धनका लागि पत्रकारीता क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले तालिमपछि अझै पर्यटन क्षेत्रको विकासमा कलम चल्ने बताए । कार्यक्रममा बोल्दै होमस्टे व्यवसायी एकराज घिमिरेले अन्तु क्षेत्रमा सभा तथा सेमिनार हलको आवश्यक रहेकाले निर्माणका लागि पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रेश सेन्टर नेपाल प्रदेश समितिका कार्यवाहाक अध्यक्ष सुजन तिमसिनाले नेपालको आर्थिक आयको माध्यम पर्यटन र पानी रहेको बताए । पर्यटकलाई सेवा दिएर ग्रामीण क्षेत्रसम्म आयआर्जन गर्न सक्ने र पानीको माध्यमबाट उर्जा उत्पादन गरि आयश्रोत वृद्धि हुने भएकाले पत्रकारले त्यस क्षेत्रमा कलम चलाउनुपर्नेमा उनले जोड दिए । उनले कोशी प्रदेश भारतसँग सीमा जोडीएको र ठुलो जनसंख्या घुम्न चाहान भएकाले भारतीय पर्यटकलाई प्राकृतिक सुन्दरता भरिएको कोशी प्रदेशका डाँडाकाँडामा पर्यटकहरु पुर्याउनका लागि सरकारी निकायले पत्रकारीताका माध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अम्विका भण्डारीले स्वागत मन्तव्य र अर्का उपाध्यक्ष कुमोद अधिकारीले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए । तालिमको मुख्य प्रशिक्षक लेखक तथा पत्रकारीता क्षेत्रका विज्ञ मोहन मैनाली रहेका छन् ।