इलाम : पथरी–११ माथि फराकिलो जित दर्ता गर्दै मछिन्द्र क्लब इलाममा जारी तेश्रो इलाम गोल्डकपको फाइनल प्रवेश गरेको हो । ठुलो टुडिखेलमा जारी प्रतियोगितामा मछिन्द्रले ५–२ गोल अन्तरको जित निकालेको हो । मछिन्द्रको जितमा मिलन चाम्लिङ, सौरभ लिम्बु, अविनाश स्याङतान र श्याम मूर्मुले गोल गरे । पथरीमा मौसम लिम्बु र सुजल डंगोलले गोल गरे ।
खेलमा अग्रता मछिन्द्रले लिएको थियो । १३ औ मिनेटमा युवराज ढकालको पासमा मिलनले सुरुवाती गोल गरेका थिए । ४ मिनेट नवित्दै पथरीले खेल बराबरीमा ल्याएको थियो । पेनाल्टी आर्कमा पाएको अवसरलाई मौसम लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ३१ औ मिनेटमा मनोज राईको गल्तीको फाइदा उठाउँदै मिलनले व्यक्तिगत दोश्रो गोल गरे ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको मछिन्द्रले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो । खेलको ५० औ मिनेटमा सौरभले गोल गर्दै अग्रता फराकिलो बनाए । मिलनको पासमा गोल गरेका थिए । ७० औ मिनेटमा सुजल डंगोलले अन्तर घटाए । राम वाजीको कर्नर प्रहारमा गोलरक्षक प्रदिप भण्डारीबाट रिवाउन्ड भएर आएको बललाई सुजलले जाली चुमाए ।
८१ औ मिनेटमा मछिन्द्रका लागि अविनाशले चौथो गोल गरे । मिलन चाम्लिङको प्रहारमा रिवाउन्ड भएर आएको बललाई अविनाशले जाली चुमाए । दोश्रो हाफको इन्जुरी समयमा श्यामले पाँचौ गोल गरे । रोमन भुजेलको मिलाइदिएको वान भर्सेस वानको अवसरलाई श्यामले गोल गरेका हुन् ।
खेलको म्यान अफ दि म्याच मछिन्द्रका मिलन चाम्लिङ घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरे । प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी र न्यूरोड टिम (एनआरटी) भिड्दैछन् ।