इलाम : इलामको टुडिखेलमा सोमबार एउटा फरक दृश्य देखियो । खेल मैदानमा बलको दौडभन्दा बढी चर्चा एक खेलाडीको उपस्थितिको भयो—राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर रोहित चन्दको ।
तेस्रो इलाम गोल्डकप अन्तर्गत मछिन्द्र क्लब र मलेसियाको एन पेनाङबीचको खेलमा सहभागी हुन इलाम आएका रोहित चन्द जर्सीमा मैदानमा उत्रिएनन् । धेरै दर्शकले उनलाई खेलिरहेको हेर्ने अपेक्षा गरेका थिए, तर उनी मैदानभित्र भन्दा बाहिर नै बढी केन्द्रमा रहे ।

आयोजकले पटक–पटक बोलाएपछि मात्र उनी स्टेजमा अतिथिका रूपमा पुगे । केही समय त्यहाँ बसेपछि भने उनी अन्य खेलाडीझैँ प्लेयर बेन्चमा बस्नुभन्दा दर्शकमाझ पारापेटमै बसेर खेल हेर्न रुचाए । यही सामान्य व्यवहारले झन् दर्शकको मन जित्यो ।
राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर तथा नेपाली फुटबलका परिचित अनुहार रोहितलाई नजिकबाट देख्न पाउँदा समर्थकहरू उत्साहित देखिन्थे । खेल चलिरहेकै बेला धेरै फुटबलप्रेमीहरू उनीसँग तस्बिर खिच्न, हात मिलाउन र छोटो संवाद गर्न आतुर थिए ।

मैदानमा गोलको भन्दा मोबाइल क्यामेराको फ्ल्यास बढी चम्किएको अनुभूति हुन्थ्यो । मछिन्द्र क्लबबाट राष्ट्रिय टोलीका अन्य खेलाडीहरू पनि इलाम आएका थिए । तर दर्शकको सबैभन्दा ठूलो आकर्षण भने रोहित चन्द नै बने ।
उनको शान्त स्वभाव, सहज उपस्थिती र नेपाली फुटबलमा बनाएको पहिचानका कारण इलामको मैदानमा उनीप्रति छुट्टै ‘क्रेज’ देखियो । रोहित चन्दका लागि यो इलामको पहिलो यात्रा थियो । तर मैदानमा देखिएको समर्थकको माया हेर्दा, उनी यहाँका दर्शकका लागि भने नयाँ अनुहारजस्ता लागेनन् ।

खेल खेलेनन्, गोल गरेनन्, तर पनि त्यो दिन इलामको टुडिखेलमा सबैभन्दा धेरै चर्चा उनकै नामको भयो । रोहित मैदान बाहिर दर्शकको रुपमा उपस्थिती रहँदा उनीसंगै मछिन्द्र क्लबमा खेलेका महेश खड्का रेफ्रीको रुपमा टचलाइनमा दौडिएका थिए ।
