इलाम । रोलिङ क्लब धुलाबारी झापा तेश्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा पाँचथर स्र्पोटिङ क्लब पाँचथरलाई ३–० गोल अन्तरले हराउँदै झापाले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
खेलको २३ औ मिनेटमा झापाका प्रताप सिंह राईले फ्रिकिक मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । झापाका राज भुसाललाई सविन घिमिरेले डिबक्स बाहिर फाउल गरेपछि पाएको अवसरलाई राईले गरेको प्रहारलाई गोलरक्षक अविशेक बरालले बचाउने कुनै अवसर पाएनन् ।
२ मिनेट नवित्दै झापाले अग्रता दोब्बर बनाएको थियो । कप्ता निरज कार्कीले टिमका लागि दोश्रो गोल गरेका हुन् । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोलरक्षक बराललाई बिट गरेर कार्कीले गोल गरेका हुन् । पहिलो हाफमा २–० को अग्रता बनाएका झापाले दोश्रो हाफको पहिलो मिनेटमा नै तेश्रो गोल गर्न सफल रहयो ।
राज भुसालको पासमा अरुण मेचेले झापाका लागि तेश्रो गोल गरे । खेलको म्यान अफ दि म्याच झापाका प्रताप सिंह राई घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरे । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा मछिन्द्र एफसी र पाहुना टोली एन पेनाङ एफसी मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।