इलाम । युवा समाज मोरङ १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
इटहरी रंगशालामा संचालित प्रतियोगितामा मोरङलाई जित दिलाउन श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे । खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाएका थि ए। विपक्षी डिफेन्डर तायो एक्किरिन्ससोयबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाएका हुन् ।
३५औं मिनेटमा डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । डेबिड ओलवोको फ्रिकिक मोरङका गोलकिपर प्रमिजय गच्छदारले नियन्त्रण गर्न नसक्दा आएको रिबाउण्ड बललाई हामजामले सदुपयोग गरेका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ३८औं मिनेटमा सुजन डंगोलले गोल गर्दै मोरङलाई पुनः अग्रता दिलाए । त्यसपछि ४२औं मिनेटमा दोर्जे तामाङले गोल गर्दै अन्तर बढाएका थिए । खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ मोरङका दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँका दरले पुरस्कार दिइनेछ ।