इलाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, रवि शाखाले डा हरिहर देव पन्त स्मृति छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बिहीबार आयोजित भएको हो। संस्थाले हरेक वर्ष स्व। डा। हरिहर देव पन्तको स्मृतिमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्ष पनि संस्थासँग आबद्ध महिला सदस्यहरूका सन्तानमध्ये २०८१ सालमा कक्षा १२ उत्तीर्ण गरेका एक छात्र र एक छात्रालाई छनोट गरी छात्रवृत्ति प्रदान गरिएको हो।
रवि शाखाअन्तर्गत सञ्चालित पाङ्ग्तुवा महिला समाज केन्द्र नं ३८ की सदस्य मिन कुमारी लावतीका छोरा खगेन्द्र लावती र हिकनुम्बा महिला समाज केन्द्र नं। १३ की सदस्य मेनुका साम्पाङ राईकी छोरी सोनिया राईलाई उच्च अंक प्राप्त गरेको आधारमा छनोट गरिएको थियो। उनीहरूलाई जनही रु। १०,००० का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको शाखाले जनाएको छ।
संस्थाले देशभरका ७७ जिल्लामा १८५ शाखामार्फत वार्षिक रूपमा ३७० जना विद्यार्थीलाई कुल रु। ३७ लाख बराबरको छात्रवृत्ति वितरण गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको संस्थाको भनाइ छ। ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच नपुगेका महिलाहरूलाई वित्तीय साक्षरता तथा लघुवित्त सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्थाले लघुबिमा, लघुबचत, लघुकर्जा, विप्रेषण तथा डिजिटल सेवा विस्तार गर्दै आएको छ।
आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा सदस्यहरूलाई सक्षम बनाउँदै गरिबी न्यूनीकरण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको जनाइएको छ। कार्यक्रमको अध्यक्षता रवि शाखाका प्रमुख महानन्द दासले गरेका थिए। कार्यक्रममा लेखापाल रुपेश कवर चौधरी, कर्मचारी बिनोद राई, कार्यालय सहयोगी कबिता राई तथा समूह सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन कर्मचारी धम प्रसाद जबेगुले गरेका थिए।