सूर्योदय नगरपालिकाको १८औँ नगरसभा अधिवेशनबाट चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णयसहित विभिन्न महत्वपूर्ण प्रस्ताव र विधेयक सर्वसम्मत रूपमा पारित भएका छन्।
कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा सञ्चालन भएको नगरसभा चैत ११ गतेदेखि सुरु भई चैत २३ गते सम्पन्न भएको हो। नगरसभाले नगरको दीर्घकालीन विकास, कृषि, पूर्वाधार र वातावरण व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
नगरले गरेको निर्णयलाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो । नगरसभाले इलामको प्रमुख नगदेबाली चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न संघीय सरकारसँग औपचारिक रूपमा अनुरोध गर्ने निर्णय गरेको छ।
चिया किसानले उत्पादन गरेको हरियो पत्तीको मूल्यमा स्थायित्व ल्याउन र किसानको आय सुनिश्चित गर्न यस्तो प्रस्ताव पारित गरिएको जनाइएको छ। यसैगरी सूर्योदय नगरपालिका–१२ मा रहेको ल्याण्डफिल साइटको समस्या समाधान गर्न रोड गाउँपालिका र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ।
फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन वडा नं १० क्षेत्रमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर तयार गरिएको जानकारी नगरसभामा दिइएको छ। नगरसभाले नगर क्षेत्रभित्र पर्ने राजमार्गको सेटब्याक सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न संघीय सरकारसँग माग गर्ने तथा जग्गा बिक्री गर्दा लाग्ने लाभकर सम्बन्धी व्यवस्था पुनरावलोकन गरी सहजीकरण गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
यसैबीच नगरसभाले सार्वजनिक खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन “सूर्योदय नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२” पारित गरेको छ। साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन विनियोजन ऐन, आर्थिक ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन, सवारी तथा यातायात व्यवस्थापन ऐन, नगर प्रहरी ऐन र सहकारी ऐन संशोधन गर्ने विधेयकहरू पनि पारित गरिएको छ।
नगरसभाले आर्थिक अनुशासनलाई मजबुत बनाउन बेरुजु नियमित गर्ने, नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा नगर कार्यपालिकाबाट भएका महत्वपूर्ण निर्णयहरू नगरसभाबाट अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
अधिवेशनका विभिन्न बैठकहरूमा प्रस्तुत भएका विधेयक, प्रस्ताव तथा समसामयिक सार्वजनिक महत्त्वका विषयहरूमाथि टीका कुमारी गौतम कट्टेल, श्री कमल प्रसाद गड्तौला, शरण लिम्बू, अरुण शर्मा आचार्य, पुण्य प्रसाद पोखरेल, चन्द्रकला मैनाली भुजेल, रोशन बुढाथोकी, जगत बहादुर तामाङ, गणेश कुमार खड्का र आकाश लेप्चा लगायतले आफ्नो महत्त्वपूर्ण धारणा राखेको जनाइएको छ ।


