इलाम — प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सब डिभिजन स्तरिय समन्वय बैठक इलामको सूर्योदय नगरपालिका–फिक्कलमा सम्पन्न भएको छ। सूर्योदय सब डिभिजन वन कार्यालयको आयोजनामा सम्पन्न उक्त बैठक सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा सञ्चालन गरिएको हो।
बैठकमा वन, वातावरण, जैविक विविधता तथा पर्यावरण संरक्षण, वन पैदावारको सदुपयोग, सामुदायिक वन व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतका विषयमा व्यापक छलफल गरिएको थियो। साथै एफएलबी परियोजना सञ्चालन तथा वन कार्यालयका कार्यक्रमहरू प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्यका विषयमा पनि निर्णय गरिएको छ ।
छलफलपछि सूर्योदय क्षेत्रका सामुदायिक वन तथा निजी वन क्षेत्र र निजी नम्बरी आवादीबाट उत्पादन हुने वन पैदावारहरू ओसारपसार गर्दा प्रचलित नियम, कानुन तथा कार्यविधिको परिधिभित्र रही व्यवस्थित रूपमा सदुपयोग गर्ने निर्णय गरिएको छ । यसका लागि वन कार्यालय, सूर्योदय नगरपालिका, वडा कार्यालयहरू, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूले समन्वयात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
यसैगरी, डिभिजन वन कार्यालय इलाम अन्तर्गत सञ्चालनमा रहेको ‘नेपालको पूर्वी पहाडी क्षेत्रमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना’ सूर्योदय नगरपालिकाको वडा नम्बर १ मा लागू भएकाले त्यहाँ रहेका चित्रेहिले लामिधुरा, सिंहदेवी थुम्के र देउराली मैनाटार सामुदायिक वन समूह तथा सो क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरूलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, डिभिजन वन कार्यालय इलाम तथा सब डिभिजन वन कार्यालय सूर्योदयबाट सञ्चालन हुने वार्षिक कार्यक्रमहरू प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय पनि गरिएको छ। वन, वातावरण तथा जैविक विविधता संरक्षणसँगै स्थानीय जनताको सामाजिक तथा आर्थिक उत्थानमा योगदान पु¥याउने उद्देश्यका साथ वन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई अझ प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने निर्णय बैठकले गरेको छ ।

यसका साथै सूर्योदय नगर क्षेत्र तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने वन पैदावार तथा वन्यजन्तुको अवैध चोरी तस्करी तथा निकासी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरी त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याई अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
त्यसैगरी सूर्योदय नगरपालिकाभित्र रहेका १९ वटा सामुदायिक वन समूहहरूलाई वन कार्यालय तथा स्थानीय निकायको सहकार्यमा थप सक्रिय र सचेत बनाउँदै उनीहरूको कार्यक्रम तथा गतिविधिमा आवश्यक सहयोग प्रदान गर्ने, साथै वन संरक्षण, व्यवस्थापन तथा सदुपयोगमार्फत सामाजिक तथा आर्थिक समृद्धिमा योगदान पु¥याउने लक्ष्यसहित काम गर्ने निर्णय पनि गरिएको छ ।
कार्यक्रममा शसस्त्र प्रहरी गुल्म पशुपतिनगरका उपरीक्षक हेम पौडेल, सूर्योदय नगरपालिकाकी प्रशासकिय अधिकृत लुना खतिवडा, अन्तुडाँडा पर्यटन सामुदायिक वनका अध्यक्ष धनकुमार आले, सूर्योदय नगरपालिका वन, वातावरण तथा विपद शाखा प्रमुख इश्वरी अधिकारी, सूर्योदय सामुदायिक वन महासंघका अध्यक्ष तिर्थकुमार राई, सूर्योदय वन पैदावार व्यवसायी संघका अध्यक्ष कुमार तिम्सिना, सूर्योदय सामुदायिक वन महासंघकी सचिव गायत्रा सुवेदी, इलाका प्रहरी कार्यालय पशुपतिनगरका सब इन्स्पेक्टर जिवन कार्की, फिक्कल प्रहरी इन्चार्ज बिष्णुप्रसाद सापकोटाले आफ्नो भनाई राखेका थिए ।

बैठकका संयोजक कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले वन्यजन्तु र वन विविधता जोगाउने बिषय एक्लै सम्भव नहुने भएकाले योजना बनाएर नगर अघि बढ्ने बताए । उनले विभिन्न क्षेत्रहरुबाट बाँदर ल्याएर छाडिदिने गर्नाले किसानहरुको बालीमा क्षति पुग्न गएको बताए । उनले वन क्षेत्रमा जनावारहरुको लागि आवश्यक पर्ने आहार प्रजाति रोप्न सके मानव–वन्यजन्तु द्धन्द्धमा कमि आउने बताए ।
बैठकमा सहजीकरण गर्दै सव डिभिजन प्रमुख रमेश भारद्धाजले सिमा क्षेत्र भएकाले मानव–वन्यजन्तु द्धन्द्ध बढि देखिने गरेको बताए । उनले वन्यजन्तुको क्षतिको लागि सरकारले राहत प्रदान गर्दै आएको बताउँदै हालसम्म ३ जना किसानलाई प्रदान गरिसकिएको बताए । उनले वन नियमावली–२०७९ ले २८ प्रजातिका रुख, २३ प्रजातिका जडिबुटी र अन्य ४ प्रजातिलाई कृषिबाली सो सरह विक्री गर्न पाउने अधिकार दिएको बताए ।
उनले निजि वनमा भएका रुखहरु प्रक्रिया पुरा गरेर कटान गर्न सकिने समेत बताए । कार्यक्रममा सब डिभिजन वन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता समूह, संघसंस्था तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।