इलाम । इलामको माइजोगमाई गाउँपालिका वडा नं १ निगालेमा सञ्चालन गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र इलाम को आयोजनामा ब्रोकाउली बाली लक्षित गरी सञ्चालन गरिएको उक्त पाठशाला १६ हप्तासम्म सञ्चालन भएको थियो।
समापन समारोह तथा कृषक दिवसको अवसरमा बोल्दै सहभागी कृषकहरूले जैविक खेती प्रणाली प्रवर्द्धनका लागि आईपिएम पाठशाला अत्यन्त प्रभावकारी रहेको बताए। उनीहरूले रासायनिक विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै स्वस्थकर तरकारी उत्पादनमा यसले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
कार्यक्रम प्रविणा राई को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै उनले गाउँपालिकाले कृषकहरूको आवश्यकता र मागका आधारमा सेवा तथा सहयोग प्रदान गर्दै आएको बताइन्। कृषकहरूको आयस्तर वृद्धि र व्यावसायिक कृषि प्रवर्द्धनमा पालिका सधैं प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा आईपिएम कृषक पाठशालाका अध्यक्ष लेखराज भण्डारी, प्रशिक्षकहरू खेमराज भट्टराई र तोयानाथ भट्टराई लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूले पाठशालाको प्रभावकारिता तथा आगामी योजनाबारे धारणा राखेका थिए। प्रदिप लुइँटेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय कृषकहरूलाई आधुनिक तथा वातावरणमैत्री खेती प्रणालीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पाठशालाका सचिव विनु खड्का ले पाठशालालाई दिगो बनाउँदै कृषक समूहका रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए।