Photo : AI generate
इलाम । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले एकै दिन ९ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार चैत ०७ गते झापा, मोरङ, सुनसरी र इलामबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड–७ का सन्तोष प्रसाईलाई ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । त्यसैगरी इलाम नगरपालिका–८ का बिबेक लिम्बु, माई नगरपालिका–४ का सिनास भट्टराई, इलाम नगरपालिका–६ का सुजन लिम्बु तथा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका गणेश बराईलीलाई २८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले धरान–१५ का मिलन तामाङ र झापाको अर्जुनधारा नगरपालिका–१० का सुवास राईलाई २ ग्राम १४९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी अस्थायी प्रहरी चौकी श्यामचोकले धरान–१५ का पवन सापकोटालाई ट्रामाडोल ३०५ क्याप्सुल र स्पास्पेन ३१० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ । उता इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ का मौसम राज बाणालाई ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।