Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

एमआरआर ग्रुपबाट चमैताको कञ्चनजंघा आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग

एमआरआर ग्रुपबाट चमैताको कञ्चनजंघा आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १ २०८२


एमआरआर ग्रुपबाट चमैताको कञ्चनजंघा आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग

इलाम । इलामको देउमाई नगरपालिका–१ चमैता स्थित कञ्चनजंघा आधारभूत विद्यालयलाई प्रविधिमैत्री शिक्षण–सिकाइलाई टेवा पुर्‍याउने उद्देश्यले कम्प्युटर सेट सहयोग प्राप्त भएको छ। फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) मार्फत विद्यालयलाई एक सेट कम्प्युटर तथा युपिएस सहयोग प्राप्त भएको हो। विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली विस्तार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपका सदस्यहरूले सामग्री उपलब्ध गराएका हुन्।

सहयोगस्वरूप ग्रुपका सदस्य सन्देश अधिकारी (काठमाडौं) ले २२ इन्चको मोनिटर प्रदान गरेका छन्। त्यस्तै सञ्जय जंग थापा (पोखरा) ले सिपियु, किबोर्ड, माउस, माउस प्याड, स्पिकर, इन्टरनेट तार तथा हेडफोन उपलब्ध गराएका छन्। साथै प्रविन खतिवडा (इटहरी) ले एक थान युपिएस विद्यालयलाई निःशुल्क प्रदान गरेका छन्।

विद्यालयले प्राप्त सामग्रीले विद्यालयमा कम्प्युटरमा आधारित सिकाइको वातावरण सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ। ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्न यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास रहेको छ।

यस कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्ने फेसबुक ग्रुपका सदस्य तथा विद्यालयका सहायक प्रधानाध्यापक रमेश पौडेलको योगदान पनि महत्वपूर्ण रहेको विद्यालयले जनाएको छ। साथै सामग्री ढुवानीमा निःशुल्क सहयोग गर्ने पूर्व विद्यार्थी निश्चल पौडेल तथा यातायात चालक तीर्थ बस्नेतप्रति विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ।

विद्यालय प्रशासनले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सामुदायिक तथा सामाजिक सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार