इलाम । तेस्रो संस्करणको इलाम गोल्डकप आगामी २०८३ वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता इलामको ठूलो टुडिखेल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सुरुमा चैत्र १३ गतेदेखि गर्ने तयारी भए पनि प्राविधिक कारणले मिति परिवर्तन गरी वैशाख ५ गतेका लागि सारिएको आयोजक रेडहर्स फुटबल क्लबले जनाएको छ। क्लबका उपाध्यक्ष प्रीतम लिम्बुका अनुसार प्रतियोगितामा नेपालका शीर्ष ‘ए डिभिजन’ क्लबहरूको सहभागिता हुनेछन् ।
डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र चित्लाङ एफसी प्रतियोगितामा सहभागी हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिए। त्यस्तै प्रतियोगितामा भारतका दुई टिम, आयोजक रेडहर्स फुटबल क्लब र झापाबाट एक टिमसहित कुल ८ टिमहरूको सहभागिता हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
इलाम गोल्डकपले पूर्वी नेपालमा फुटबलको विकास र खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरूको सहभागिताले दर्शकको उत्साह अझ बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।