Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

निर्वाचनको व्यस्ततामा ओझेलमा सुखानी सहिद

निर्वाचनको व्यस्ततामा ओझेलमा सुखानी सहिद

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन २१ २०८२


निर्वाचनको व्यस्ततामा ओझेलमा सुखानी सहिद

इलाम : फागुन २१ नेपाली वामपन्थी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन मानिन्छ। झापा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका पाँच योद्धाको स्मृतिमा मनाइने सुखानी सहिद दिवस विगतमा वामपन्थी नेताहरूले विशेष रूपमा सम्झने गरेका थिए। तर यस वर्ष भने यही दिन निर्वाचनको चटारोले ढाकिदिँदा सुखानी सहिदको स्मरण अपेक्षाकृत फितलो बनेको देखिएको छ।

वि।सं। २०२९ फागुन २१ मा झापा आन्दोलनका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती व्यवस्थाले झापा–इलाम सीमानामा पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो।

त्यसयता हरेक वर्ष वामपन्थी दलका नेता तथा कार्यकर्ताहरूले यस दिनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने गरेका थिए। प्रायः बिहानै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली सन्देश सार्वजनिक गर्ने र इलाम–झापा सीमानामा रहेको सुखानी पार्कमा पुगेर माल्यार्पण गर्ने परम्परा जस्तै बनिसकेको थियो। तर यस वर्षको फागुन २१ भने फरक देखियो। देश निर्वाचनको माहोलमा रहेकाले अधिकांश वामपन्थी शीर्ष नेताहरूले दिनको सुरुवातमै सहिदहरूको स्मरण गर्न भ्याएनन्।

विगतका वर्षहरूमा बिहानै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत श्रद्धाञ्जली सन्देश सार्वजनिक गर्ने नेताहरू यसपटक मौनजस्तै देखिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालले सुखानी सहिद दिवसका अवसरमा कुनै श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेनन्। झापा आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएको मानिने वाम आन्दोलनका यी नेताहरूबाट सन्देश नआउँदा सहिद प्रति वेवास्ता झै देखिएको छ।

उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहानै स्मरण नगरी करिब दुई घण्टा अघि मात्रै सामाजिक सञ्जालमार्फत सुखानी सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै फागुन २१ आफ्नो जीवनसँग जोडिएको विशेष दिन भएको उल्लेख गरेका छन्।

ओलीका अनुसार यही दिन झापा आन्दोलनका क्रममा सहिद भएका पाँच योद्धाको स्मरण हुने दिन मात्र नभई आजकै दिन आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको सम्झनासमेत जोडिएको छ। ओलीले झापा आन्दोलनले निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको उल्लेख गर्दै सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

विगतमा वामपन्थी नेताहरूको सक्रिय उपस्थिति रहने सुखानी पार्कमा यस वर्षको गतिविधि पनि अपेक्षाकृत कम देखिएको स्थानीयहरूले बताएका छन्। राजनीतिक दलहरू निर्वाचनको रणनीति र प्रचारप्रसारमा केन्द्रित हुँदा वाम आन्दोलनको ऐतिहासिक दिन नै ओझेलमा परेको टिप्पणी पनि हुन थालेको छ।

यसले नेपाली वाम आन्दोलनको इतिहाससँग जोडिएको सुखानी सहिद दिवसलाई समेत वर्तमान राजनीतिक व्यस्तताले कसरी छायामा पार्न सक्छ भन्ने प्रश्न उब्जाएको छ। निर्वाचनको चहलपहल सकिएपछि मात्रै सहिद स्मरणको परम्परा पुनः सक्रिय हुन्छ कि भन्ने जिज्ञासा पनि उब्जिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार