Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

को हुन् नेकपाबाट इलाम-२ का उम्मेदवार ओम गुरूङ : जनयुद्ध देखि संसद प्रवेशको तयारी

को हुन् नेकपाबाट इलाम-२ का उम्मेदवार ओम गुरूङ : जनयुद्ध देखि संसद प्रवेशको तयारी

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १८ २०८२


को हुन् नेकपाबाट इलाम-२ का उम्मेदवार ओम गुरूङ : जनयुद्ध देखि संसद प्रवेशको तयारी
  • प्रहरीले खोलेको फायरबाट लागेको गोली दुवै तिघ्रामा लाग्यो र पार नै ग¥यो ।
  • गोली लागेपछि म बेहोस भएर ढले ।
  • होस खुल्दा आफु धरानको घोपा क्याम्पमा थिएँ, प्रहरीले नै उठाएर घोपा क्याम्पमा उपचारका लागि पु¥याएछन् ।’

जनतालाई निरङ्कुश शासकबाट मुक्त गराई अधिकार स्थापित गर्न २०५२ सालबाट सुरु भएको ‘जनयुद्ध’ सम्झँदा इलामको एकतप्पाका ओम बहादुर गुरुङलाई सपना जस्तै लाग्छ । उनै गुरूङ अहिले आफैले लडेर ल्याएको संघीय गणतन्त्रबाट स्थापित व्यवस्था अन्तर्गत इलाम-२ मा नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्हबाट संघीय सासंदको उम्मेदवार छन् ।

युद्ध लड्दै लगाइएका नाराबाट धेरै माग नेपालको संविधान २०७२ मार्फत संस्थागत भएपछि गुरुङ खुशी भएपनि उनको जीवन भने दुःखदायी छ । उनी भन्छन्, ‘पुराना दिन काहालिलाग्दा थिए, अहिले सम्झँदा सपना जस्तो लाग्छ र अरु सुन्दा पत्याउँन सक्दैनन् ।’ सामान्य परिवारमा जन्मिएका गुरुङको गाउँ अहिले गाविसबाट फाकफोकथुम गाउँपालिका बनेको छ । तर, सिंहदरबारको अधिकार घरमा पुगेपनि उनी श्रम गर्न सिंहदरबार रहेको खाल्टो काठमाडौंमै भौतारिरहनु परेको छ ।

क्रान्ति सकिएपछि धेरै राजनीतिक मद्दद्धाहरु संस्थागत भएर अहिले देश संघीयता कार्यान्वयनमा छ । गुरुङ भन्छन्, ‘संविधान बन्यो, राजनीतिक मुद्दा संस्थागत भएपनि गणतन्त्र र संघीयताका लागि लड्ने हामी भोग भोकै हिंड्नुपर्ने अवस्थामा छौं ।’ गुरुङ अहिले काठमाडौंको जय बागेश्वरीको गल्लिमा ट्राभल्स व्यवसाय गरि परिवार पाल्दै आएका छन् ।’

तत्कालिन नेकपा माओवादीले उठाएका मुद्दा सही लागेपछि अध्ययन छोडेर आन्दोनमा होमिएका गुरुङले जनयुद्धका क्रममा दर्जनौ ठुला युद्धमा सहभागि भए । साना ठूला गरि सयौँ वटा युद्धमा भिडेका गुरुङको दुवै तिघ्रामा गोली लागेपछिका घाउ आलै छन् । तिघ्राको घाउ देखाउँदै गूरुङ भन्छन्, ‘जनताका लागि लड्दाखेरी लागेको घाउ आलै भएपनि उसबेलका कुरा गर्दा आफैलाई सपना जस्तो लाग्छ, आफ्नै नानीहरुले पत्याउँदैनन् ।’ भिडन्तमा लागेको गोली धरानको घोपा क्याम्पमा अप्रेसन गरि झिकिए पनि पिडा उस्तै छ ।

उनी भन्छन्, ‘केहि परिवर्तन गर्न त्यागको आवश्यकता परेपनि शिक्षा, परिवार र ज्यानलाई खुकुरीको धारमा राखेर भएको परिर्वतन संस्थागत हुँदा हामी जस्ता योद्धाको घाउ आलै हुँदा राज्यबाट उपेक्षित छौं ।’

को हनु्, ओम गुरुङ

ओमबहादूर गुरुङको स्थायी घर इलामको एकतप्पा  गाविसको वडा नम्बर १ हो । हाल एकतप्पा फाकफोकथुम गाउँपालिकामा समेटिएको छ । बुबा सन्तबहादूर गुरुङ र आमा कृष्णमाया गुरुङको कोखबाट २०३५ साल असोज ६ मा जन्मिएका हुन् । नेपाली सेनाबाट अवकास भएका गुरुङका बुबा सन्त बहादूरको २०७१ सालमा निधन भएको थियो । स्थानीय जानकी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका ओम बहादुरले एकतप्पाकै सिंहदेवी माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उर्तिण गरेका थिए । उनको औपचारिक अहिले शिक्षा प्लस टुबाट ब्रेक लागेको छ ।

राजनीतिक यात्रा

ओम बहादुर गुरुङको राजनीतिक यात्रा जन्मदिने बुबाआमाबाटै भएको  थियो । बुबा सन्तबाहादुर नेपाली सेनाबाट अवकाश पाएपछि गाउँमा समाजसेवासँगै राजनीतिमा सक्रिय रहेकाले राजनीतिमा आकर्षित भएका ओम बहादुर । ‘बुबाले कम्युनिष्टको राजनीति गर्ने भएकाले मलाई पनि प्राभावित भएर सानैदेखि राजनीति गतिविधिमा लाग्न थालियो,’ उनी भन्छन् । विद्यालयमा अध्ययन गर्दादेखि नै राजनीतिमा प्रवेश गरेका गुरुङले नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) को इकाई सचिवबाट क्रान्तिको यात्रा सुरु गरेका थिए ।

औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गर्दा उनी आठ कक्षामा अध्ययन गर्दै थिए । नेकपा माओवादीले सुरु गरेको जनयुद्धका मुद्दाहरू र विचारप्रति आकर्षित भइ क्रान्तिमा होमिएका गुरुङ २०५८ सालदेखि पूर्णकालिन राजनीतिमा प्रवेश गरे । विद्यार्थी राजनीतिबाट जनमिलिसिया हुँदै २०५९ सालमा जनसेनामा प्रवेश गरेका थिए, ओम बहादुर । गुरुङको यात्रा यतिमा सिमीत छैन । उनले इलाम क्षेत्र नम्बर ७ को जनसेनाको सदस्य, सेक्सन भ्वाइस कमाण्डर, सेक्सन कमाण्डर, प्लाटन भिसी कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन भ्वाइस कमाण्डरको जनसेनाको नेतृत्व गरेका थिए ।

१० वर्षको जनयुद्धसँगै दोस्रो जनआन्दोलन २०६२ को सफलता पाएपछि देश  शान्ति प्रक्रियामा प्रवेश गरेपछि जनसेना पनि अस्थायी शिविरमा राखिएका थिए । शान्ति प्रक्रियाको चरणमा उनी प्रथम डिभिजनको अस्थायी शिविरमा बसेका थिए । राजनीतिक पार्टीहरुबीच भएको  सहमतिपछि स्वेच्छिक अवकास लिएपछि पनि गुरुङको राजनीतिक यात्रा रोकिएन । अस्थायी शिविरबाट बाहिरिएपछि तत्कालिन लिम्बुवान राज्य अन्तरगतको युवाहरूको इञ्चार्ज भइ काम गरेका थिए भने नेकपा माओवादी केन्द्रको केन्द्रिय आयोजक समितिक सदस्य समेत भएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता पछि उनी नेकपाको केन्द्रिय परिषद् सदस्यमा मनोनित भएका थिए ।

जनयुद्धलाई फर्केर हेर्दा

जनयुद्धमा लडेको सम्झँदा अहिले सपना जस्तै लाग्छ, उनलाई । ‘सम्झदा आँङ सिरिङ्ग हुन्छ,’ उनी भन्छन् । १० वर्षे जनयुद्धका क्रममा उनले ठूला साना गरि लडेका मोर्चा सम्झनै सक्दैनन । ‘सेनाको काम गरेदेखि दिनेपिच्छे जस्तो युद्धमा सहभागी भएका थियौं’, उनी भन्छन्, ‘साना मोर्चा त कति लड्यो लड्यो, सम्झँदा अहिले डेढ सयजति ठूला मोर्चाहरुको याद आउँछ ।’ सिराहाको बन्दिपुर, भोजपुरको घोडेटार, मोरङको जाँते, काठमाडौंको थानकोट, धनकुटा, भोजपुुर, उदयपुरको ताम्लि, झापाको सुरुङ्गा, इलाम सदरमुकामका मोर्चाहरू उनको यादमा छन् ।

‘युद्धका मोर्चा त कति लड्यौंलड्यौं धेरै त सम्झानामा आउँदैन । कुनै दिन दिनभरीनै लड्नुपथ्र्यो, खाने कुरा हराउँथ्यो,’ उनले थपे, ‘भोकभोकै लडेको जनयुद्धकै कारण देशमा राजनीतिक परिवर्तनसँगै धेरै अधिकार जनताको हातमा आएकाले खुशी लागेको छ, जनताका अधिकार धेरै स्थापित भएकाले अब अर्को युद्ध देशमा गर्नुपर्दैन ।’

घाइते र बन्दी जीवन

२०६२ फागुन १४ को कुरा हो । ओमबहादुर गुरुङसहितको जनसेनाको ७ जनाको टोली इटहरी सहरको रेकि गर्न बजार पसेको थियो । रेकि गर्ने क्रममा आफ्नो साथि प्रहरीको फन्दामा प¥यो । ‘उस बेला हामीसँग फोन थियो, फोनमा साथीले खबर ग¥यो  र बोलायो, बोलाएको ठाउँमा गएको थियौं,’ उनी भन्छन्, ‘प्रहरीको कब्जामा परेपछि साथीले खबर गरेको रहेछ, पुगेपछि मात्रै थाहा पाइयो भाग्ने क्रममा प्रहरीको फायरले घाइते भइयो ।’ चार जनाको टोली गएका थियौं, तीन जना साथिहरु भागेनन् आफु भाग्ने हुँदा प्रहरीले फायर खोल्यो ।

‘प्रहरीले खोलेको फायरबाट लागेको गोली दुवै तिघ्रामा लाग्यो र पार नै ग¥यो । गोली लागेपछि म बेहोस भएर ढले । होस खुल्दा आफु धरानको घोपा क्याम्पमा थिए,’ उनी भन्छन्, ‘प्रहरीले नै उठाएर घोपा क्याम्पमा उपचारका लागि पु¥याएछन् ।’ २८ दिनको उपचार पछि आफूले बन्दी जीवन विताउनुपरेको उनले सुनाए । २०६२ चैत्रदेखि उनी मोरङ जिल्ला कारागारमा बन्दी जीवन बिताएका थिए । उनी मोरङ जिल्ला कारागारमा ३ महिना बसेका थिए ।

शारिरिक अवस्था

तिघ्रामा गोलि पार भएपछि उपचार भएपनि शरिरको भर छैन । खुट्टा सुनिने, दुख्ने, पोल्ने र झमझमाउनु गुरुङका लागि अहिले सामान्य भएको छ । ‘कुनैबेला सुतेको ठाउँबाट उठ्नै सक्दिन’, गुरुङ भन्छन्, ‘शरिरको भर छैन परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।’ पेटमा पनि गोली लागेकाले समस्या उस्तै छ । दैनिक नसा र पेटको औषधि खाँदै आएका उनी चिसोमा अत्याधिक शरिर दुख्ने र हिउँदमा दैनिक जसो अस्पताल धाउनुपर्ने बाध्यता रहेको बताउँछन् । शान्ति प्रक्रियापछि शान्ति तथा पुनः निर्माण मन्त्रालयको समितिले  गुरुङको शरिर ६५ प्रतिशत अपाङ्गताको निर्धारण गरको छ ।

६५ प्रतिशत अपाङ्गगता भएकाले सरकारले मासिक ६२ सय रुपैयाँ निर्वाहा भत्ता दिएपनि औषधि खरिद गर्नै पुग्दैन । सरकारले राजनीतिक परिवर्तनमा प्रत्यक्ष सहभागि भएका योद्धालाई सहयो गर्न जरुरी रहेको उनको भनाइ छ । देशको परिवर्तनका लागि लड्दा उमेर र तागत सकिएको गुरुङ बताउँछन् । आगामी दिनमा सरकारले उपचार र जिवन निर्वाहाका लागि प्राविधिक धारको तालिम प्रदान गर्नुपर्छ । जसले हाम्रो परिवारको आर्थिक अवस्था सुधार हुनुपर्ने उनको भनाइ छ ।

परिवार पाल्न ट्राभल्स एजेन्सी

शारिरिक श्रम गर्न नसक्ने अवस्थामा रहेका ओमबहादुर गुरुङले अहिले परिवार पाल्न काठमाडौंमा  ट्राभल्स एजेन्सी संचालनमा ल्याएका छन् । शान्ति प्रक्रियाका क्रममा अस्थायी शिविरबाट स्वेच्छिक अवकाश लिएपछि परिवार पाल्नै निकै समस्या थियो । ‘परिवार पाल्नका लागि शारिरिक श्रम गर्न नसकिने भएकाले निकै समस्या भएपछि ऋण गरेर काठमाडौँमा व्यवसाय सुरु गरेको हुँ,’ उनले भने ।

काठमाडौँको जयबागेश्वरीमा गजुरमुखि ट्राभल्स एजेन्सिको व्यवसाय शुरु गरेको २०७५ जेठ महिनाबाट हो । राष्ट्रिय, अन्तराष्ट्रिय एयर टिकट र नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको टुर प्याकेज बिक्री गर्ने एजेन्सीको व्यवसाय सामान्य रहेको उनी बताउँछन् । ‘व्यवसायले परिवार पाल्ने काम गरिरहेको छ,’ गुरुङ भन्छन्, ‘प्रतिस्पर्धाको जमानाम व्यवसाय टिकाउन पनि निकै मेहनत गर्नुपर्छ ।’

जनयुद्धका ति दिन

नेकपा माओवादीले उठाएका मुद्दा अध्ययनसँगै सहि र राम्रो लागेर जनयुद्धमा होमिएका थिए गुरुङ । प्रजातन्त्र पुनःस्थापना पछि सत्तामा रहेका राजनीतिक दलहरुले जनताका मागलाई लत्याउँदै गएको अवस्थाको बिचबाट माओवादी आन्दोलन सुरु भएको गुरुङको बुझाइ छ । उसबेला नेकपा माओवादीका एजेण्डा सहि थिए । गुरुङ भन्छन्, ‘माओवादीले उठाएका एजेण्डा भएकाले धेरैजसो संविधानले पनि संस्थागत गरेको छ । गणतन्त्र, संघीयता, समावेशिता र अधिकार सहितको स्थानीय तह गठन हुनु जनताका लागि खुसीको कुरा हो ।’ जनयुद्ध अन्त्यका भएको पनि एक दशक बढी भएको छ । ‘अहिले सम्झदा सपना जस्तो लाग्छ, तर जनताका मागलाई निष्कर्षमा पु¥याउनका लागि हामीले लड्यौं, शरिरबाट रगत बगाएपनि पुनः नयाँ जीवन पाएका छौं,’ उनी भन्छन्, ‘हजारौं योद्धाहरुले वलिदान दिएकाले उनीहरुको सपनालाई साकार पर्न अहिलेको सरकार र राजनीतिक दलहरुले जनमुखी कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्छ ।’

जनयुद्ध देशको परिवर्तनका लागि आवश्यक थियो । जनचाहाना अनुसार विचार र एजेण्डालाई बुलन्द गर्न जनयुद्ध नभएको भए सम्भव थिएन र गणतन्त्र स्थापना हुने थिएन । ‘जनयुद्धका राजनीतिक परिवर्तन धेरै छन्, जनतामा आएको प्रत्यक्ष उपलब्धि समाजिक, आर्थिक, सांस्कृतिक र धेरै कुसंस्कारहरुलाई चिरेर समान रुपमा अवसर सिर्जना गर्नु हो,’ गुरुङ भन्छन्, ‘जनयुद्धकै जगमा संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापना हुनु नै मुख्य उपलब्धि हो । यदि जनयुद्ध सही थिएन भने त पहिलो संविधानसभामा नेकपा माओवादी ठूलो पार्टी हुँदैन थियो र अन्य राजनीतिक दलले माओवादीको एजेण्डालाई समर्थन गर्दैनथे ।’

जनयुद्ध लाग्नु र लड्नु अहिले सपना जस्तो लाग्छ । किनभने जनताको परिवर्तनका लागि हतियार सहित ज्यानलाई बाजी राखेर कयौँ दिन हिड्नु र लड्न अहिलेको अवस्थामा सकिँदैन । उसबेला जनतालाई चेतनशिल बनाउन माओवादीको परिवर्तनको बिचारलाई अंगालेकोमा खुशी लाग्छ  । तर, हिंजोका परिवर्तनका लागि लड्ने योद्धाप्रति सम्मान र जीवन निर्वाहका लागि राज्यको आँखा पुगोस् । ‘१० वर्षसम्म  परिवर्तनका लागि लड्ने योद्धा शरिरमा गोली बोकेर, भोकभोकै, बिरामी अवस्थामा थलिएर बस्नुपर्ने अवस्थाले हामीलाई निकै दुःख लागेको छ,’ उनी भन्छन् ।

‘राजनीतिक नेतृत्वले परिवर्तनका लागि लड्ने योद्धालाई अहिले बिर्सिएको जस्तो लाग्छ,’ गुरुङ भन्छन्, ‘जनता र परिवर्तनका लागि लड्ने योद्धाको चाहाना, उनीहरुले बगाएको रगतको मुल्यांकन गर्न जरुरी छ । उनीहरुले सम्मान र सहज जीवनयापनका लागि प्राविधिक सीप प्रदानको आवश्यकता छ ।’ व्यक्तिगत रुपमा आफ्ना लागि व्यवसाय प्रवद्र्धनका लागि सरकारी क्षेत्रबाट सहुलियत रुपमा ऋण प्रदान गरे सहज हुने उनको भनाइ छ । १ छोरा र श्रीमतीसँगै काठमाडौंमा बस्दै आएका गुरुङ भन्छन्, ‘प्राविधिक धारको तालिम प्रदान भए बाँच्ने आधारहरु बन्ने थियो ।’ अहिले नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीबाट पहिलो पटक संघीय संसद प्रवेशको तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार