इलाम : इलाम बजारस्थित शिखर प्रोडक्सन हाउसले विद्यालय उमेर समूहका बालबालिकाको अन्तर्निहित क्षमता र रुचिअनुसार प्रतिभा तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘इलाम लिटल च्याम्प–२०८३’ आयोजना गर्ने भएको छ। नयाँ वर्ष २०८३ को प्रारम्भमै ग्राण्ड फिनाले सम्पन्न गर्ने लक्ष्यसहित कार्यक्रम घोषणा गरिएको हो। आज आयोजित पत्रकार सम्मेलनमा प्रोडक्सन हाउसका प्रोप्राइटर सन्दिप प्रधानले ७ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई जुनियर तथा १२ वर्ष माथिका विद्यार्थीलाई सिनियर समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए ।
दुवै समूहबाट अडिसनमार्फत ३०र३० जना गरी ६० जना प्रतिस्पर्धी छनोट गरिने र छनोट भएकालाई तीन सातासम्म विभिन्न विधामा विशेष प्रशिक्षण प्रदान गरिने उनले बताए । प्रशिक्षणपछि व्यवस्थित र भव्य कार्यक्रमका बीच ग्राण्ड फिनाले आयोजना गरिनेछ। अडिसनका लागि रु ५०० दस्तुर तिरेर फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ।
पहिलो चरणमा १०० जनासम्मले आवेदन दिन सक्ने भए पनि निश्चित मापदण्डका आधारमा ६० जना मात्र सशुल्क सहभागीका रूपमा छनोट गरिने आयोजकले जनाएको छ। साथै कुल छनोटमध्ये १० प्रतिशत अर्थात् ६ जना आर्थिक अवस्था कमजोर तर प्रतिभावान विद्यार्थीलाई निःशुल्क सहभागी गराइने विशेष व्यवस्था गरिएको छ। अडिसन फाराम मिति २०८२ फागुन १७ गतेदेखि २३ गतेसम्म इलाम नगरपालिकाभित्रका अधिकांश विद्यालय, डान्स सेन्टर तथा इलाम बजारस्थित शिखर फोटो स्टुडियोबाट उपलब्ध हुने जनाइएको छ। ‘फस्ट कम, फस्ट सर्भ’ आधारमा १०० आवेदन पुगेपछि फाराम दर्ता बन्द गरिनेछ। अडिसन भने यहीँ फागुन ३० गते सञ्चालन गरिने तय भएको छ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीले जुनियर समूहका लागि रु १२ हजार र सिनियर समूहका लागि रु १५ हजार तीन साताको प्रशिक्षण शुल्क अग्रिम बुझाएर सहभागिता सुनिश्चित गर्नुपर्नेछ। विद्यालयको वार्षिक परीक्षा सकिएलगत्तै २१ दिने प्रशिक्षण सुरु गरिने र नयाँ शैक्षिक सत्र प्रभावित नहुने गरी ग्राण्ड फिनाले सम्पन्न गरिने आयोजकको योजना रहेको छ। ग्राण्ड फिनालेमा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
जुनियर समूहको प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, २० हजार र १५ हजार नगद प्रदान गरिनेछ भने सिनियर समूहको प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। इलाम बाहिरका आयोजकले विगतमा यस्ता कार्यक्रम आयोजना गरे पनि नियमितता र अपेक्षित गुणस्तर कायम नभएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले यसपटक स्थानीयस्तरमै व्यवस्थित कार्यक्रम ल्याइएको प्रोडक्सन हाउसको भनाइ छ।
कार्यक्रम सफल पार्न विद्यालय, नृत्य प्रशिक्षण केन्द्र तथा अन्य सरोकारवाला निकायको सहयोग रहनेमा आयोजक विश्वस्त रहेको छ। बालबालिकाको प्रतिभा उजागर गर्न तथा आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्याउने विश्वाससहित अभिभावकलाई आफ्ना छोराछोरीलाई सहभागिता गराउन आयोजकले आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी इलाम लिटल च्याम्प को आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
