Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इरानमा ठूलो सैन्य कारबाही : अमेरिकाको ‘बहुदिने अपरेसन’ संकेत, इरानको मिसाइल प्रतिउत्तर

इरानमा ठूलो सैन्य कारबाही : अमेरिकाको ‘बहुदिने अपरेसन’ संकेत, इरानको मिसाइल प्रतिउत्तर

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १६ २०८२


इरानमा ठूलो सैन्य कारबाही : अमेरिकाको ‘बहुदिने अपरेसन’ संकेत, इरानको मिसाइल प्रतिउत्तर

इलाम । अमेरिका र इजरायलले इरान का विभिन्न स्थानहरूमा, राजधानी तेहरान सहित, संयुक्त रूपमा सैन्य आक्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “ठूलो स्तरको सैन्य कारबाही” भन्दै घोषणा गरेका छन्। यो आक्रमण अमेरिका–इरानबीच परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमसम्बन्धी वार्ताको बीचमा भएको हो। पछिल्ला केही सातादेखि ट्रम्पले कडा चेतावनी दिँदै आएका थिए।

यसअघि पनि अमेरिका र इजरायलले आठ महिनाअघि १२ दिन लामो युद्ध लडेका थिए। इरानले जवाफी कारबाहीस्वरूप उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको पुष्टि भएको छ। दुवै देशमा भएको क्षति र हताहतको विवरण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
इरानका कहाँ–कहाँ आक्रमण ?

इजरायलले शनिबार बिहान इरानमाथि मिसाइल आक्रमण सुरु गरेको घोषणा गरेको थियो। त्यसपछि एक अमेरिकी अधिकारीले उक्त कारबाही अमेरिका–इजरायलको संयुक्त सैन्य अपरेसन भएको बताएका छन्। स्थानीय  सञ्चारमाध्यमहरूका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट, जोम्हुरी क्षेत्र र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स IRGC मुख्यालय नजिक विस्फोट भएका छन्।

साथै सर्वोच्च नेता अलि खामेनेईको कार्यालय नजिक पनि आक्रमण भएको समाचार सार्वजनिक भएको छ। तेहरानको उत्तरी सेय्यद खन्दान क्षेत्रमा समेत विस्फोटको आवाज सुनिएको बताइएको छ। यसका अतिरिक्त केरमानशाह, कुम, तब्रिज, इस्फहान, इलाम, कराज तथा लोरेस्तान प्रान्तमा पनि विस्फोट भएको स्थानीय मिडियाले जनाएका छन्।
ट्रम्पले के भने ?

राष्ट्रपति ट्रम्पले अमेरिकी अभियानको उद्देश्य “इरानका मिसाइल नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु” रहेको बताएका छन्। उनले इरानको नौसेनालाई “पूर्ण रूपमा ध्वस्त पार्ने” चेतावनी पनि दिएका छन्। साथै हमास, हिज्बुल्लाह र हुथीजस्ता इरान समर्थित समूहहरूले अब क्षेत्रीय अस्थिरता सिर्जना गर्न नपाउने दाबी गरेका छन्। ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने आफ्नो अडान दोहोर्याउँदै “अमेरिकी सेनाको शक्ति कसैले चुनौती दिन नहुने” चेतावनी दिएका छन्। रायटर्सका अनुसार यो बहुदिने सैन्य अभियान हुनसक्ने संकेत गरिएको छ।
इरानको प्रतिक्रिया

इरानले तत्काल जवाफी कदम चाल्दै इजरायलतर्फ मिसाइल प्रहार गरेको पुष्टि भएको छ। इजरायलका विभिन्न क्षेत्रमा सायरन बजेको र उत्तरी भागमा विस्फोटको आवाज सुनिएको जानकारी दिइएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले “कडा र चकनाचुर बनाउने प्रतिक्रिया” दिने चेतावनी दिएका छन्।
इरानी नेताहरू कहाँ छन् ?

८६ वर्षीय सर्वोच्च नेता अली खामेनेई केही दिनयता सार्वजनिक रूपमा देखिएका छैनन्। तेहरानस्थित उनको आवास क्षेत्रतर्फ जाने सडकहरू सुरक्षाकर्मीले बन्द गरेका छन्। राज्य सञ्चालित समाचार एजेन्सीका अनुसार राष्ट्रपति मसुद पेजेशकियन भने सुरक्षित रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार