इलाम : इलाम नगरपालिका वडा नं ९ ले आफ्नो क्षेत्रभित्रका आर्थिक रूपमा विपन्न दलित परिवारलाई लक्षित गर्दै बाख्राको पाठी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत दलित समुदायलाई पशुपालनतर्फ उत्प्रेरित गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
वडा कार्यालयका अनुसार बाख्रा पालनबाट हुने आम्दानीले स्थानीय विपन्न परिवारलाई दैनिक गुजारा चलाउन र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा दर्जनौँ परिवारलाई उन्नत जातका बाख्राका पाठीहरू हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ९ का वडा अध्यक्ष गोपाल चौहानले विपन्न परिवारको घाउमा मलम लगाउनु स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

चौहानले भने,“स्थानीय सरकारको प्रमुख दायित्व भनेकै जनताको दुःखमा साथ दिने हो । विपन्न दलित परिवारलाई थोरै भए पनि राहत होस् र उनीहरू भोलिका दिनमा व्यावसायिक बन्न सकून् भन्ने हेतुले यो कार्यक्रम ल्याएका हौँ । यसले उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण टेवा पु¥याउने हाम्रो विश्वास छ ।” अध्यक्ष चौहानले वडा कार्यालयले विगतदेखि नै सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई मूल मन्त्र बनाएर काम गरिरहेको उल्लेख गरे ।
यस्ता लक्षित वर्गका कार्यक्रमले दलित समुदायभित्र आत्मविश्वास जागृत गराउने र आर्थिक रूपमा सशक्त बनाउने उनको भनाइ थियो । वडाबाट निःशुल्क बाख्राका पाठी पाएपछि स्थानीय लाभग्राहीहरू निकै उत्साहित देखिएका छन् । स्थानीयवासी सिता सुन्दासले खुसी व्यक्त गर्दै भनिन्, “हामीजस्ता गरिबका लागि सरकारले यति ठूलो कुरा सोचिदिएकोमा हामी निकै खुसी भएका छौँ । अब यसलाई राम्रोसँग पालेर आम्दानीको स्रोत बनाउने आशा पलाएको छ ।”
अर्का स्थानीय शेर बहादुर सिवाले पनि वडाको यो कार्यको प्रशंसा गर्दै यसले आफूहरूलाई आयआर्जनको बाटो देखाएको बताए । स्थानीय तहले चालेका यस्ता साना तर प्रभावकारी कदमले दीर्घकालीन रूपमा समुदायमा सकारात्मक असर पार्ने र समावेशी विकासको मार्ग प्रशस्त गर्ने स्थानीय बुद्धिजिवीहरूको ठहर छ । कार्यक्रममा वडा सचिव अर्जुन थापा सहित वडा सदस्य चुडामणि दाहाल,कमला बराल , भावना मुगराती सहित स्थानिय उपीस्थत थिए