Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा निर्वाचनको ‘काउन्टडाउन’ सुरु , सियो धागो देखि मतपेटीका तयार !

इलाममा निर्वाचनको ‘काउन्टडाउन’ सुरु , सियो धागो देखि मतपेटीका तयार !

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ८ २०८२


इलाममा निर्वाचनको ‘काउन्टडाउन’ सुरु , सियो धागो देखि मतपेटीका तयार !

इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला इलाममा चुनावी तयारीले तीव्रता पाएको छ । मतदानको मिति फागुन २१ लाई लक्षित गर्दै प्रशासनिक, प्राविधिक र सुरक्षा संयन्त्र एकसाथ सक्रिय भएका छन् । जिल्लाभर २ लाख ३१ हजार ८ सय ९ मतदातालाई मतदान प्रक्रियामा सहज र सुरक्षित सहभागिता गराउन १ हजार ७ सय ४० जना कर्मचारी खटाइने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लामा एक सय ५० मतदानस्थल अन्तर्गत २ सय ९० मतदान केन्द्र कायम गरिएको छ ।

भौगोलिक विकटता, सडक पहुँच र मौसमीय चनौतीलाई ध्यानमा राख्दै मतदान केन्द्र व्यवस्थापन देखि सामग्री ढुवानीसम्मको कार्यतालिका सूक्ष्म रूपमा बनाइएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी देवी चरण फुएलका अनुसार मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री जिल्ला आइपुगेका छन् । सुरक्षाकर्मीको उपस्थितिमा ती सामग्रीको प्याकिङ कार्य तीव्र रूपमा भइरहेको छ । इलामका दुईवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आइपुग्ने जनाइएको छ ।

मतपत्र प्राप्त भएपछि सुरक्षा प्रबन्ध अझ कडा पारिने र छुट्टै सुरक्षित कोठामा भण्डारण गरिने कार्यालयको तयारी छ । यस्तै निर्वाचन सम्पन्न गर्न आश्यक सामग्रीको सूची लामो छ । मतपत्र, मतपेटिका, छेकबारा, सुरक्षण सिल, प्याकिङ सामग्री, ऐन–नियम, निर्देशिका, आचारसंहिता, अनुसूची फाराम, जुटका बोरा, प्लास्टिक थैला, कार्टुन बक्स, टिनका बाकस लगायत करिब ५० भन्दा बढी प्रकारका सामग्री प्रयोगमा आउने छन् ।

संवेदनशील सामग्रीको सूची छुट्टै राखिएको छ । मतदाता नामावली, मतपत्र, मतपेटिका, मतपेटिकाको सुरक्षण सिल, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, स्वस्तिक छाप र नमेटिने मसीलाई उच्च संवेदनशील श्रेणीमा राखिएको छ । यी सामग्रीको ढुवानी र भण्डारणमा विशेष निगरानी रहने जनाइएको छ । मतपेटिका स्टिकर, कलम, मैनबत्ती, लाहा, खाम, धागो, सियो, कार्ड, टेबुल घडी जस्ता स–साना तर अत्यावश्यक सामग्रीसमेत सूचीकृत छन् ।

मतपेटिका, सुरक्षण सिल, कैची, क्यालकुलेटर, म्याटसहित १६ प्रकारका सामग्री पुनःप्रयोग गरिनेछ भने बाँकी सामग्री एकपटक प्रयोगपछि प्रतिस्थापन गरिनेछ । फागुन २१ को मिति नजिकिँदै जाँदा इलाममा निर्वाचनको ‘काउन्टडाउन’ सुरु भएको छ । सामग्री व्यवस्थापन, कर्मचारी परिचालन र सुरक्षा संयन्त्रको समन्वयबीच जिल्लावासी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने दिनको प्रतीक्षा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार