Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

फिक्कल माविको १०५औँ वार्षिकोत्सव भव्य रूपमा सुरु

फिक्कल माविको १०५औँ वार्षिकोत्सव भव्य रूपमा सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ४ २०८२


फिक्कल माविको १०५औँ वार्षिकोत्सव भव्य रूपमा सुरु

फिक्कल । इलाम जिल्लाको सुदूरपूर्वी भेगमा अवस्थित जिल्लाकै पुरानो शैक्षिक संस्थामध्ये एक फिक्कल माध्यमिक विद्यालय ले आफ्नो १०५औँ वार्षिकोत्सवको अवसरमा दुईदिने कार्यक्रम आजबाट भव्य रूपमा सुरु गरेको छ। वार्षिकोत्सवको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रनाथ शर्माले पानसमा बत्ती बालेर गरेका हुन् ।

उद्घाटनअघि विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा प्रभातफेरी आयोजना गरिएको थियो, जसमा विभिन्न जातजातिका झाँकीसहित फिक्कल बजार क्षेत्रको नगरपरिक्रमा गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षकहरूले स्वागत गीतमार्फत अतिथिहरूको सत्कार गरेका थिए भने प्रधानाध्यापक राजेन श्रेष्ठले स्वागत मन्तव्य राख्दै विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक योगदान र भावी योजनाबारे प्रकाश पारे ।

विसं १९७७ मा स्थापना भएको यस विद्यालयले १०५ वर्षको यात्रा तय गर्दै यस शैक्षिक सत्रसम्म आइपुग्दा उल्लेखनीय उपलब्धि हासिल गरेको आयोजक समितिले जनाएको छ। वार्षिकोत्सवको पहिलो दिन विभिन्न प्रतियोगितात्मक गायन तथा नृत्य कार्यक्रमहरू सञ्चालन भएका छन्।

कार्यक्रमको दोस्रो दिन सम्मान तथा पुरस्कार वितरण गरिनेछ। साथै विभिन्न दाताहरूबाट स्थापना गरिएका छात्रवृत्ति तथा स्मृति कोषअन्तर्गतका पुरस्कारहरू दाताहरूको उपस्थितिमै वितरण गरिने जनाइएको छ। विद्यालयमा गङ्गाप्रसाद स्मृति कोष छात्रवृत्ति, श्याम एण्ड फुलमाया स्कलरशिप कोष, मानबहादुर स्मृति कोष, दिपेन प्रधान स्मृति कोष, विशाल प्रधान स्मृति कोष, पतराम अग्रवाल स्मृति कोष तथा लेखराज बस्नेत स्मृति कोष स्थापना भई प्रत्येक वर्ष विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको छ।

आयोजक समितिका अनुसार, वार्षिकोत्सवले विद्यालयको गौरवशाली इतिहासलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन र विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार