इलाम । भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आगामी आज इटालीसंग खेल्दैछ। भारतको मुम्बईमा खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपालले टी–२० आईमा पहिलो पटक इटालीको सामना गर्न लागेको हो। टी–२० फर्मयाटमा नेपालले इटलीको पहिलो पटक सामना गर्न लागेको हो। तर, ५० ओभरको प्रारुपमा भने नेपाल र इटाली ३ पटक आमनेसामने भइसकेका छन्।
इटालीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ। क्यानडामा सन् २००१ मा आयोजना भएको आइसिसी ट्रफीमा नेपाल र इटली एकै समूहमा रहे पनि अन्तिम समयमा इटलीले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो। प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै इटली र नेपालको भेट असम्भव भयो।
नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो। उक्त भेटमा नेपालले इटलीलाई पराजित गरेको थियो । यस खेलमा नेपालका लागि शक्ति गौचनले शतक प्रहार गरेका थिए। शक्ति उक्त खेलमा १ सय ३ बलमा अविजित १ सय ६ रन प्रहार गरेका थिए । शक्तिको उक्त शतक युरोपेली राष्ट्रविरुद्ध नेपालको पहिलो शतक थियो।
सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा नेपालले इटलीको सामना गरको थियो। यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गर्यो। यो खेलमा अमृत भट्टराईले महत्वपुर्ण ३ विकेट लिएका थिए। तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो। उक्त खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो।
सन् २०१२ र २०१३ मा आयोजना भएको टी– २० विश्वकप ग्लोबल छनोटमा इटली र नेपाल सहभागी भएका थिए। सहभागी भए पनि फरक समूहमा रहेका कारण इटली र नेपालको खेल भने भएको थिएन । इटालीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक ट्वान्टी २० विश्वकपमा स्थान बनाएको हो।
विश्वकपको डेब्यु खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। तेस्रो पटक विश्वकप खेलिरहेको नेपाललाई भने सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न इटालीविरुद्धको खेल हार्ने छुट छैन। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो। अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको भने छैन।
नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ। यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ। नेपालले गत मंगलबार वानखेडे स्टेडियममा अभ्यास गर्ने मौका पनि पाएको छ। वानखेडे मैदानसँग अभ्यस्त हुनु नेपालका लागि आजको खेलमा ठुलो फाइदाको रूपमा रहने छ
अब नेपालले वानखेडे रङ्गशालामा चारै खेल खेल्ने छ। जारी विश्वकपमा समूह चरणमा एकै मैदानमा सबै खेल खेल्ने भाग्यशाली टिम नेपाल मात्र हो।