चुलाचुली : इलामको चुलाचुली गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूले एसईई परीक्षालाई लक्षित गर्दै सञ्चालन गरेका रात्रीकालीन छात्रावास (अतिरिक्त कक्षा) कार्यक्रमको स्थानीय तहका जनप्रतिनिधिहरूले अनुगमन गरेका छन्। गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावतीको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, वडा नम्बर ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ तथा शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल सहभागी थिए।
एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न नियमित पठनपाठन मात्र पर्याप्त नहुने निष्कर्षसहित विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच भएको छलफलपछि चुलाचुली गाउँपालिकाका तीन विद्यालयमा रात्रीकालीन छात्रावाससहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो। हाल श्री जनता माध्यमिक विद्यालय चुलाचुली–२ , श्री किरातेश्वर माध्यमिक विद्यालय चुलाचुली–३ र श्री राष्ट्रप्रेमी माध्यमिक विद्यालय चुलाचुली–६ मा अस्थायी छात्रावासको रूपमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका छन्।
बेलुकी समयमा हुने यी कक्षामा विद्यार्थीहरूलाई विद्यालयमै बसोबास र खानपानको व्यवस्था गरिएको छ। कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन अभिभावक, विद्यालय व्यवस्थापन र स्थानीय सरकारले संयुक्त रूपमा गरेका छन्। चुलाचुली–२ स्थित जनता माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा १६ छात्र र २३ छात्रा गरी कुल ३९ जना विद्यार्थी सहभागी हुँदैछन्।
उनीहरूलाई गत मंसिर १३ गतेदेखि विद्यालयमै राखी पठनपाठन, खानपान तथा बसोबासको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। यसका लागि अभिभावकबाट मासिक १० हजार रुपैयाँ शुल्क लिइँदै आएको छ। नियमित कक्षा पश्चात साँझ ६ बजेदेखि अतिरिक्त अध्ययन कक्षा सञ्चालन हुने गरेको छ। उक्त विद्यालयले गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको र त्यसको परिणामस्वरूप एसईई नतिजामा जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो।
सोही अभ्यासलाई अनुसरण गर्दै यस वर्ष किरातेश्वर माध्यमिक विद्यालय र राष्ट्रप्रेमी माध्यमिक विद्यालयले पनि रात्रीकालीन छात्रावास सञ्चालन गरेका हुन्। अनुगमनका क्रममा विद्यार्थीहरूलाई हौसला र उत्प्रेरणा दिँदै उपाध्यक्ष लावतीले छात्रावासमा बस्दा देखिने सानातिना समस्यालाई सकारात्मक रूपमा लिन आग्रह गरिन्। उनले अभिभावक, विद्यालय र स्थानीय तह विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि एकजुट भएर कार्यक्रम सञ्चालन गरिएको बताइन्।
यसै क्रममा किरातेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कृतिका घिमिरेले खानेपानीको समस्या तथा कक्षाकोठाका झ्याल खुल्ला हुँदा रातिको समयमा चिसो हुने गुनासो राखिन्। अनुगमन टोलीले विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले अभ्यास पुस्तिका समेत वितरण गरेको छ।