फिक्कल । सूर्योदय नगरपालिकामा “प्रधानाध्यापक बैठक तथा अपाङ्गता प्रारम्भिक पहिचान सम्बन्धी क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालले विद्यालय शिक्षाको गुणस्तर सुधारमा प्रधानाध्यापकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताए। प्रधानाध्यापक बैठक अन्तर्गत शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन सुदृढीकरण, समावेशी शिक्षा प्रवर्द्धन, अपाङ्गता प्रारम्भिक पहिचान तथा नगरस्तरीय शैक्षिक नीति तथा कार्यक्रमसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागी प्रधानाध्यापकहरूले आफ्ना विद्यालयका अनुभव आदानप्रदान गर्दै व्यवहारिक सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अपाङ्गता प्रारम्भिक पहिचान सम्बन्धी क्षमता विकास सत्रमा बालबालिकामा देखिन सक्ने अपाङ्गताको लक्षण, पहिचानका उपाय तथा विद्यालयस्तरमै अपनाउन सकिने सहयोगात्मक अभ्यासबारे जानकारी प्रदान गरिएको थियो। उक्त सत्रले विद्यालयहरूलाई समावेशी शिक्षाको अभ्यास प्रभावकारी बनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले नगरभित्रका सामुदायिक विद्यालयबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नुका साथै शिक्षाको गुणस्तर सुधारतर्फ सकारात्मक योगदान पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ।