इलाम । इलाममा ३ दिवसीय पर्यटन पत्रकारिता तालिम आयोजना गरिएको । ग्लोबल मिडिया एन्ड एडभर्टाइजिङको आयोजना, नेपाल पत्रकार महासङ्घ इलाम शाखाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तीन दिवसीय पर्यटन पत्रकारिता तालिम सुरु भएको छ। इलाम नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भिलेज होमस्टेमा उक्त तालिम कार्यक्रम सुरु भएको हो।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले जिम्मेवार, तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने बताए ।
कार्यक्रममा इलाम नगरपालिका–६ का अध्यक्ष दुर्गा श्रेष्ठ (मदन), इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल, पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडा, पुर्वेली ट्याक्सी यातायात संघका अध्यक्ष गृष्म सुब्बा, प्रेस युनियन इलाम अध्यक्ष सविता पाण्डे, प्रेस चौतारी इलाम अध्यक्ष मनोज अधिकारी, प्रेस सेन्टर इलाम अध्यक्ष नमिन ढकाल, आदिवासी जनजाती पत्रकार महासंघ अध्यक्ष याम मावोहाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष लोकेन थेवेले स्वागत गरेका थिए ।
अध्यक्ष चापागाईंले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे । उक्त पर्यटन पत्रकारिता तालिममा चार जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको छ। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फीचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँदैछ।
तालिमको पहिलो दिनत पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशवकुमार धौरालीले प्रशिक्षण दिएका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइनेछ। तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी समाचार तथा सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाले जनाएको छ।