इलाम । झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्गलाई दुई लेनमा बिस्तार शुरु भएको छ । सवारीसाधानको चाप अत्याधिक भएपछि संघीय सरकारले इलाम खण्ड दुई लेनको बनाउन काम शुरु गरेको हो । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्दैे पर्यटन र व्यापारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजमार्गको इलाम खण्डबाट विस्तार शुरु भएको छ । सवारीसाधनको अत्याधिक चापका कारण इलाम झापाको सीमा क्षेत्र जोरकलसबाट बिस्तारको काम शुरु भएको हो ।
जोरकलसबाट हर्कटेसम्मको १५ किलोमिटर सडक खण्ड दुई लेनको बनाउन धमाधम काम हुँदै आएको हो । सडक विस्तारको काम सडक डिभिजन कार्यालय इलाम मार्फत हुँदै आएको छ । पुरानो सडकमा मोड सुधार गरि सिंगल लेनको सडक दुई लेनमा बिस्तार हुने डिभिजनका सुचना अधिकारी अर्जुन घिमिरेले बताए ।
१५ किलोमिटर सडक बिस्तारका लागि २०८२ असार २४ मा संझौता भएको थियो । ०८४ असारमा सम्पन्न गरिसक्नुपर्ने बिस्तारको काम २४ करोड ९३ लाख ७५ हजार ७ सय ६४ मा ठेक्का संझौता भएको छ । पहिरो जाने संभावित क्षेत्रमा सडक विस्तारको काम हुनेछैन ।
सडक बिस्तारमा नाला निर्माण, ग्याभिङ्ग, होमपाएप थप्ने, ढलान गर्ने, किनारामा बेरीयर बनाउने र कालोपत्रेका काम हुनेछन् । कालोपत्रे अस्पाल गुणस्तरमा हुनेछ । जोरकलस हर्कटे सडक खण्ड बिस्तार हुँदा पूर्वी इलामका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्ने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । सडक बिस्तार दुई लेनको भएपछि नेपाल र भारतका पर्यटकहरुको संख्या पाथिभरा, कन्याम र अन्य क्षेत्रमा अझै बढ्ने उनले बताए । उनी भन्छन्–सडक बिस्तार समयमा सकिनेमा हामी आसावादी छौँ ।’ सडक डिभिजन कार्यालय इलामका अनुसार जोरकलस कुटिडाँडा खण्डमा ७ हजार ५ सय ६८ घनमिटर जाली वाल लगाउने र ८० मिटर ढलान हुनेछ । सोहि ठेक्काबाट वर्षौदेखि भासिँदै आएको मेचीराजमार्गको इलाम राजदुवाली सडक खण्डमा ड्रिल गरेर पानी बाहिर निकालिने कार्य पनि हुनेछ । सडक मुनि पानी बग्दा भासिने क्रम बढेकाले सडक स्थायित्वका लागि ड्रिल गरेर पानी निकाल्न भुगर्भविद्ले सिफारिस गरेका थिए ।
मेची राजमार्गको राजदूवाली खण्डमा ७ सय मिटर सडक निरन्तर बग्ने गरेको छ । भुगर्भ विद्ले सडक मुनि पानीको मुहान भएको र पानीसँगै सडक बग्ने गरेकाले पानी निल्काल सुझाव दिएका थिए । विज्ञको सुझावपछि सडक डिभिजन कार्यालय इलामले ड्रिल गरेर पानी निकाल्न निर्माण व्यवसायीसँग संझौता गरेको छ । सडकमुनि ३० मिटर गहिराइसम्म ड्रिल गरेर पानि निकाल्ने सडक डिभिजनको योजना छ ।
निर्माण व्यवसायीसँग संझौतापछि अहिले भासिएको सडक खण्डको एक्सरे गर्ने काम सकिएको हो । एक्सरे रिपोट आएकाले ड्रिलिङ्गको काम शुरु हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए । ठाउँ परिवर्तन भएका हो तर ड्रिलिङको काम गरि पानी निकालेर सडकलाई स्थायित्व दिने काम हुने भट्टराईले बताए । सडक मुनिको पानी निकाल्ने काम गर्न १ करोड २० लाख खर्च हुनेछ । भौगोलिक अवस्था अनुसार न्युनतम २० देखि ३० मिटर भित्रसम्म ड्रिल गरि जालि पाइपबाट पानी बाहिर निकालिनेछ । ७ सय मिटर सडक खण्डको ३ सय स्थानमा ड्रिल हुनेछ । ड्रिल गरि पानी निकाल्ने काम आगामि वर्षात अघि नै सक्ने योजना सडक डिभिजनको छ ।
क्रमस भासिने सडकको स्थायित्व दिन ५ वर्ष अघि रक एङ्करिङ्गको काम गरिएको थियो । जसले सडकको एक खण्डमा पहिरो खस्न रोकेपनि अन्य क्षेत्रमा नतिजा दिन सकेन । सडक भासिने र यातायात अवरुद्ध हुँदा पूर्वी पहाडका बासिन्दाको आवतजावत नै समस्या हुने हुँदा मर्मतको काम चाँडो गर्नुपर्ने माग रहेको इलामका प्रभास भट्टराईले बताए ।
वर्षातपछि सडक भासिदा गत वर्ष ५ दिन र यस वर्ष १४ दिनसम्म राजदुवाली खण्ड अवरुद्ध भएको थियो । झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ्गबासी समस्या पर्दै आएका छन् । सडक डिभिजन कार्यालयले मेचीराजमार्गको पाँचथर ताप्लेजुङ्ग खण्डमा सडक विस्तारको काम शुरु भएको छ । पाँचथरको काबेली र ताप्लेजुङको सडक बिस्तार, ढलान, पक्कि वाल लगायतका काम हुनेछन् । पाँचथर खण्डको हिलाहाङ्ग ७ स्थित घ्यापे, जोरपोखरी, गोपेटार खण्डमा सडक बिस्तार र निर्माणको काम हुनेछ । बाँकी काम कावेली ताप्लेजुङ्ग खण्डमा काम हुनेछ । राजमार्गको पाँचथर र ताप्लेजुङ्ग खण्डमा काम गर्नका लागि २०८२ असारमा हिमालयन निर्माण सेवासँग संझौता भएको हो । कम्पनीले मूल्य अभिवृद्धि कर सहित १४ करोड ३९ लाख ३४ हजार बढीमा निर्माणको जिम्मा पाएको छ । मेची राजमार्गले झापाको चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङको सुकेटार विमानस्थलसम्म जोड्छ । २ सय ६८ कि.मी. लामो मेची राजमार्ग पूर्वी पहाडी जिल्लाको मेरुदण्ड हो ।