इलाम : आदिवासी लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ इलामले लिम्बू समुदायको बाहुल्य रहेको दुई स्थानीय तहमा लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी कार्यान्वयन गर्न माग गरेको छ । इलाम सदरमुकाममा शुक्रबार बिहान सम्पन्न चुम्लुङको नवौं जिल्ला अधिवेशनले लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ र चुलाचुली गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न माग गरेको हो ।
अधिवेशनले ‘१३ बुँदे इलाम घोषणापत्र’ जारी गर्दै सो माग अघि बढाएको हो । ‘लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ र चुलाचुली गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न यो अधिवेशन जोडदार माग गर्दछ,’ अधिवेशनबाट जारी घोषणापत्रमा उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार आठ सय १० जनसङ्खया रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले विस २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजको भाषा घोषणा गरी लागू गरिसकेको छ । उता चुलाचुली गाउँपालिकामा २३ हजार एक सय ५७ जनसङ्ख्या २५.१ प्रतिशत लिम्बू जातिको बसोबास छ ।
अधिवेशनले ताप्लेजुङको पाथीभरामा सुरु गरिएको केवलकार परियोजना खारेज गर्न, लिम्बू भाषा र लिपि पठनपाठनमा शिक्षक दरबन्दी सिर्जना गरी पठनपाठन सहज बनाउन, लिम्बू भाषा लिपिका लागि स्थानीय तहबाट बजेट विनियोजन गर्न, लिम्बू जातिको साँस्कृतिक सम्पदा, दाहसंस्कारस्थल, समाधिस्थल, पुरातात्विकस्थल आदिमा हुने अतिक्रमणको अन्त्य गर्नलगायको माग गरेको छ ।
यस्तो छ घोषणापत्र :
किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन १३ बुँदे इलाम घोषणापत्र
आदिवासी किरात लिम्बू समुदायहरुको एक मात्र साझा संस्था किरात याक्थुङ चुम्लङले लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कृति तथा इतिहासको सम्मान र संरक्षण गर्दै लिम्बू जातिको उत्थान, सांस्कृतिक पुर्नजारगरण, सामाजिक, आर्थिक, शैक्षिक, भाषिक विकासका लागि २०८२ माघ ९ गते इलाम सदरमुकाममा सम्पन्न किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशनबाट समसामयिक प्रस्ताव समेटिएको १३ बुँदे इलाम घोषणपत्र जारी गरेका छौं ।
समासामियक प्रस्तावहरु :
१. वर्तमान १४ जिल्ला समेटिएको प्रदेश १ लाई ‘लिम्बुवान, किरात’ नामाङ्कन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवम् संवत् १८३१ को लिम्बु(गोर्खा सन्धिको आधारमा अरूण कोशीपूर्व मेचीसम्मको भूक्षेत्रमा ‘लिम्बुवान’ आठौँ प्रदेश निर्माण गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
२. ताप्लेजुङस्थित आदिवासी लिम्बूहरुको धार्मिक, साँस्कृतिकथलो एवम् मुन्धुमीस्थल मुक्कुमलुङमा सुरु गरिएको केवलकार परियोजना तत्काल खारेज गरियोस् भनी यो महाधिवेशन जोडदार माग गर्दछ ।
३. प्रदेश १ मा लिम्बू भाषालाई समेत सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
४. लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ र चुलाचुली गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
५. लिम्बू भाषा लिपि पठन पाठनमा शिक्षक दरबन्दी अविलम्ब सिर्जना गरी पठन पाठन सहज बनाउन, भाषा लिपिका लागि स्थानीय तहबाट बजेट विनियोजन गर्न गराउन यो अधिवेशन जोडदार माग गर्दछ ।
६. राज्यको सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजनको क्रममा लिम्बुवान क्षेत्रका लिम्बूको भूमि, भाषा, लिपि, शिक्षा, संस्कृति लगायतमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न यो यो अधिवेशन माग गर्दछ ।
७. इलामका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा लिम्बू भाषा अर्थात किरात सिरीजंगा लिपीमा साइनबोर्ड राख्न सम्बन्धित निकायमा यो अधिवेशन अनुरोध गर्दछ ।
८. लिम्बू जातिको साँस्कृतिक सम्पदा, दाहसंस्कार स्थलरसमाधिस्थल, पुरातात्विकस्थल आदिमा राज्यपक्षबाट हुने अतिक्रमणको अन्त्य गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
९. आदिवासी लिम्बूहरुको परम्परागत संस्था चुम्लुङ र प्रथाजनित कानुनहरुलाई कानुनी मान्यता प्रदान गरियोस् भनी यो महाधिवेशन जोडदार माग गर्दछ ।
१०. प्रदेश १ पुनस् नामकरण संयुक्त सङ्घर्ष समितिको आन्दोलनमा घाइते भएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै जेल जीवन बिताई रहेको सम्पूर्ण योद्धाहरूमा यो अधिवेशन हार्दिक सम्मान व्यक्त गर्दछ । साथै आषिश साम्बासहित यस आन्दोलनका योद्धाहरुमाथि लगाईएका झुटा मुद्दाहरू अविलम्ब फिर्ता लिन अधिवेशन माग गर्दछ ।
११. स्थानीय रैथाने स्थान नामहरू नेपालीकरण तथा संस्कृतकरण गर्ने परिपाटीको विकास तिब्र भएकाले यस्तो कार्य रोकी सबै प्रकारका स्थान नामहरू स्थानीय भाषामा राख्न र नेपालीकरण तथा संस्कृतकरण गरिएका नामहरूलाई पुनस् स्थानीय रैथाने आदिवासीहरूको भाषामा नाम राख्न यो अधिवेशन अनुरोध गर्दछ ।
१२. विश्वभरका लिम्बूहरुमा एकताको आह्वान गर्दै अधिकार प्राप्तिको आन्दोलनमा शहिद भएकाहरु प्रति यो नवौं जिल्ला अधिवेशन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
१३. किरात याक्थुङ चुम्लुङको नवौं जिल्ला अधिवेशन सफल पार्न उद्घाटन समारोहका प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, अहोरात्र क्रियाशील व्यवस्थापक इलाम नगर समिति, आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरू, स्वयम् सेवकहरू, केलास्ङ कलाकारहरु, सम्पूर्ण प्रतिनिधिहरू, उपस्थित अन्य महानुभावहरू सबैलाई यो अधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
