Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कप अन्तर्गत इलाम जिल्ला छनोटमा नमुना युवा क्लब विजयी

प्रधानमन्त्री कप अन्तर्गत इलाम जिल्ला छनोटमा नमुना युवा क्लब विजयी

  • सन्देश सम्बाददाता
  • मंगलबार, माघ ७ २०८२


प्रधानमन्त्री कप अन्तर्गत इलाम जिल्ला छनोटमा नमुना युवा क्लब विजयी

इलाम । जिल्ला क्रिकेट संघ इलामको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत इलाम जिल्ला छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता इलामको रोङ गाउँपालिका–३ स्थित कुटिडाँडामा रहेको श्री शान्ति निकेतन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ।

आज सम्पन्न पहिलो खेल नमुना युवा क्लब र क्रिएटिभ क्रिकेट क्लबबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको क्रिएटिभ क्रिकेट क्लबले निर्धारित ५० ओभरमा अलआउट हुँदै ११८ रन मात्र जोड्न सक्यो। जवाफी ब्याटिङमा उत्रिएको नमुना युवा क्लबले आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै विजयी भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नमुना युवा क्लबका प्रवेश अधिकारी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

जिल्ला छनोट प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी फर युथ, न्यु स्टार्स क्रिकेट क्लब, क्रिएटिभ क्रिकेट क्लब तथा नमुना युवा क्लब गरी चार टोली सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान) को निर्देशनअनुसार २०८२ साल पुस २१ गतेदेखि माघ ११ गतेभित्र प्रधानमन्त्री कपअन्तर्गत जिल्ला छनोट सम्पन्न गर्नुपर्ने कार्यतालिका अनुसार इलामको जिल्ला छनोट माघ ६ गतेदेखि सञ्चालन गरिएको हो।

आजदेखि सुरु भएको प्रतियोगितामा चार टोलीका ७५ जना खेलाडी सहभागी हुने जिल्ला क्रिकेट संघ इलामका सदस्य इन्द्रबहादुर लेप्चाले जानकारी दिए। पहिलो दिनको खेल अवलोकनका लागि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं इलाम जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेल, संघका सचिव महेश राई तथा प्रतियोगिता संयोजक इन्द्रबहादुर लेप्चा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार